प्रदेश १ लोकसेवा आयोगका अध्यक्षको पारिश्रमिक ६० हजार

१० भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
7 Shares


विराटनगर – प्रदेश १ मा गठन हुने प्रदेश लोकसेवा आयोगका अध्यक्षको मासिक पारिश्रमिक रु. ६० हजार ६ सय ८० रुपैयाँ तोक्न प्रस्ताव गरिएको छ । प्रदेशमा तीन सदस्यीय आयोग गठन गर्ने कानुनी प्रावधान छ । प्रदेशको सुशासन तथा योजना समितिले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सम्बन्धी दफावार छलफल गराई यसको प्रतिवेदन प्रदेशसभामा पेश गरेको छ । अध्यक्षको पारिश्रमिकलगायत विषय संशोधनसहित सुशासन समितिले प्रतिवेदन सदनमा पेश गरेको हो । संशोधनपछि थप गरिएको अनुसूची २ मा अध्यक्षलाई आवास, टेलिफोन, पत्रपत्रिका वापत मासिक २ हजार ५ सय, सवारी साधनका लागि मासिक एकसय लिटर इन्धन र त्रैमासिक रूपमा १० लिटर मोविल, दैनिक भ्रमण भत्ता रु. २ हजार ५ सय, यात्राबिमा रु.२ लाख, चाडपर्व खर्च एक महिनाको पारिश्रमिकबराबरको सुविधा हुनेछ ।

अनुसूची ३ मा लोकसेवा आयोगका सदस्यको पारिश्रमिक मासिक रु.४७ हजार ३ सय ८०, १५ किलोमिटरभित्र आवास नहुनेलाई मासिक रु.१५ हजार, आफ्नो घरमा बस्नेलाई वार्षिक ४० हजार सरसफाई तथा मर्मत खर्च उपलब्ध गराउने व्यवस्था थप गरिएको छ । सुशासन समितिका सभापति अर्जुन राईले विधेयकमा बाधा अडाउ फुकाउने व्यवस्था थप गरेको बताउँदै भने,‘‘समावेशिता समेत मध्यनजर गर्दै योग्यता प्रणालीलाई अवलम्बन गर्ने शब्दावली प्रस्तावनामा थप गरेका छौं ।’’ विधेयकमा समावेशी सिद्धान्तका आधारमा एक महिलासहित तीन सदस्यीय लोक सेवा आयोग गठन गर्ने व्यवस्था छ । लोकसेवा आयोगका अध्यक्ष र सदस्य विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता भए सभामुखले कार्य व्यवस्था परामर्श समितिको परामर्शमा ५ सदस्यीय छानबिन समिति गठन गर्न सक्ने व्यवस्था थप गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया