१५ वर्षीया बालिकामाथि पटक पटक बलात्कार गर्ने युवक ५ वर्षपछि पक्राउ

प्रकाशित मिति:

काठमाडौं – आर्थिक अवस्था कमजोरी भएको परिवारकी एक १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन्  काठमाडौंको कागेश्वरी मनोहरा स्थायी घर भइ काठमाडौं महानगरपालिका–१८ बस्दै आएका २८ वर्षीय सुमन खड्कालाई पाटन उच्च अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । पाटन उच्च अदालतको १० कात्तिक २०७१ को आदेशबाट दोषी ठहर भएका खड्का त्यसयता फरार थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट खटिएको टोलीले खड्कालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

सिआईबीका अनुसार खड्काले परियार थरकी १५ वर्षीया बालिकालाई विवाह गर्ने भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । सिआईबीका खड्काले ६ जेठ २०६९ मा काठमाडौं महानगरपालिका–१८ स्थित आफ्नै घरमा बोलाएर ती बालिकामाथि बलात्कार गरेका थिए । प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले खड्कालाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो । पछि, उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेशलाई उल्टी गर्दै खड्काविरुद्ध ४ वर्ष ५ दिन १ महिनाको कैद सजाय सुनाएको थियो ।