शेयर बजारमा नेप्से बढ्यो, कारोबार रकम घट्यो

प्रकाशित मिति:

काठमाडौं – शेयर बाजरमा मंगलबार परिसूचक नेप्से बढेको छ । लामो समय घटेको नेप्सेमा सामान्य सुधार हुँदा बजारमा करेक्सन आएको लगानीकर्ताको बुझाई छ । परिसूचकमा सुधार देखिएपनि कारोबार रकममा भने गिरावट आएको छ ।

शेयर बाजरमा मंगलबार परिसूचक नेप्से ४ दशमलव ८७ अंकले बढेर १ हजार २ सय ८ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि बढेको छ । होटल र निर्जीवन बीमा बाहेकका सबै समुहका परिसूचकहरु बढेका छन् ।जसले गर्दा पनि नेप्सेमा सुधार आएको छ । कारोबार रकम भने सोमबारको तुलनामा १४ करोड रुपैयाँले घटेको छ । मंगलबार १ सय ६७ कम्पनीको २४ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्से १ हजार २ सयमा आइपुगेपछि बजारमा शेयरको मूल्य सस्तिएको भन्दै विक्री गर्नेको संख्या घटेको छ ।

जसले गर्दा स्वतः माग बढ्न गई नेप्से बढेको देखिन्छ । यसलाई कतिपयले घट्दो बजारमा करेक्सन भएको बताएका छन् । कारोबार रकममा उच्च गिरावट आएपनि एनआइसि एसियको शेयर कारोबार २ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको भएको छ ।सबैको लघुवित्त र आँधिखोला लघुवित्तका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन भने प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य पनि ८ प्रतिशत बढीले बढेको छ । तर सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीले झण्डै ७ प्रतिशतले गुमाएका छन् ।