विद्युतीय सवारी साधनप्रति सर्वसाधारण आकर्षित

प्रकाशित मिति:

काठमाडौं – सबैको आकर्षण विद्युतीय सवारीमा छ । विद्युतीय सवारीमा प्रति किलोमिटर २ रुपैयाँ ४० पैसा मात्रै खर्च हुने भएकोले विद्युतीय सवारीको प्रयोग बढ्न थालेको हो । जसका कारण नेपालमा इन्धन आयातमा १४ प्रतिशतले गिरावट आएको छ ।नेपालमा अहिले एक हजारभन्दा बढी विद्युतीय सवारी साधन सञ्चालनमा छन् । बाँकी सवारीसाधन डिजल र पेट्रोलबाट चल्छन् । डिजल र पेट्रोलबाट चल्ने कुनैपनि सवारीसाधन १५ देखि २० किलोमिटर गुड्दा एक लिटर इन्धन खपत हुन्छ । तर, विद्युतीय सवारी साधनमा भने प्रति किलोमिटर २ रुपैयाँ ४० पैसा मात्रै खर्च हुन्छ । जुन नेपालको लागि फाइदाको विषय हो । यसैले पनि पछिल्लो समय नेपालमा विद्युतीय सवारी आयातकर्ता र प्रयोगकर्ताको आकर्षण बढेको छ ।

इन्धनबाट चल्ने सवारीे आयातसँगै पेट्रोलियम पदार्थको आयात पनि नेपालमा बढ्दो छ । इन्धन खरीदमा मात्रै हरेक बर्ष डेढ खर्ब बढी रकम बाहिरिदाँ मुलुकको व्यापार घाटा पनि बढ्दो छ । सरकारले पनि चालू आर्थिक बर्षको बजेटमार्फत विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गरेको देखिन्छ । मुलुकभित्र विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्योगलाई २० देखि २५ प्रतिशतसम्म सहुलियत दिन सरकार पनि तयार छ ।भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो’मा अधिकांशको ध्यान सोकेशमा राखिएका विद्युतीय गाडीहरुले खिचेको छ । अहिले नेपालमा ४६ लाख ५० हजारदेखि ६५ लाखसम्मका विद्युतीय सवारी छन् । अवलोकनकर्ता पनि विद्युतीय सवारीप्रति आकर्षित भएको पाइन्छ ।

विद्युतीय सवारीको बढ्दो प्रयोगका कारण अघिल्ला वर्षहरुको तुलनामा पेट्रोलियम पदार्थको आयातमा १४ प्रतिशतले कमी आएको तथ्यांक सरकारसँग छ । सरकार विद्युतीय सवारीको प्रयोगलाई बढाएर इन्धनको आयातलाई घटाउने कसरतमा छ ।तर, यसका लागि पूर्वाधार भने बाधक देखिन्छ । चार्जिङ स्टेशन निर्माण नभएका कारण साझा यातायातले ल्याएका विद्युतीय बस अहिले थन्किएका छन् । विद्युतीय सवारी साधनका लागि काठमाडौँ उपत्यकाभित्र र बाहिर पनि चार्जिङ स्टेशन निर्माणलाई प्रमुख प्राथमिकतामा राखिए पनि हालसम्म १२ वटा मात्रै चार्जिङ स्टेशन सञ्चालनमा छन् ।