पर्वतमा फैलियो भाईरल प्रकोप, विद्यालय पूर्णरुपमा बन्द

प्रकाशित मिति:

पर्वत – विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि पर्वतको एक विद्यालय बन्द गरिएको छ । पर्वतको विहादी गाउँपालिका वडा नं. १ बाच्छामा रहेको जनकल्याण मावि केहि दिनका लागि बन्द गरिएको हो । मौसमका कारण एक सय भन्दा बढि विद्यार्थी र शिक्षकहरुलाई ज्वरो आउने, रुघा लाग्ने र टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने जस्ता समस्या देखिएपछि थप संक्रमण नफैलियोस भनेर विद्यालय बन्द गरिएको निमित्त प्रद्यानाध्यापक चित्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले तत्काललाई हिजोदेखि दुई दिनका लागि विद्यालय बन्द गरिएको र संक्रमण नरोकिएमा पुनः थप गरिने श्रेष्ठले बताउनुभयो । स्थानीय स्वाथ्य चौकीका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक तथा अभिभावकहरुको भेला बसी गाउँमा थप संक्रमण नफैलियोस् भनेर स्कुल बन्द गर्ने निर्णय गरिएको शिक्षक झलक चापागाँईले जानकारी दिनुभयो ।

बिरामी परेका शिक्षक तथा विद्यार्थीहरु मध्ये केहिको स्थानीय स्वास्थ्य चौकी, केहिको कुश्मा र पोखरामा उपचार भैरहेको चापागाईले जानकारी दिनुभयो । केहि दिनदेखि विद्यार्थीको संख्या क्रमश घट्दै गएपछि विद्यालय बन्द गर्नुपरेको हो । दुषित पानी र खराब मौसमका कारण संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।