पुडासैनी आत्महत्या प्रकरण: शव र भिडियो ‘फोरेन्सिक’ परीक्षण गर्नेलाई अदालतमा उपस्थित हुन आदेश

प्रकाशित मिति:

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी आत्महत्या भनिएको प्रकरणमा बलियो प्रमाण मानेर पेस गरिएको भिडियोको फोरेस्निक र शव परीक्षण रिपोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ ।

आत्महत्या दुरुत्साहन मुद्दाको आदेशमा ‘भिडियोको फोरेन्सिक परीक्षण र शव परीक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणको रुपमा अदालतले थप परीक्षण नगरी, नबुझी प्रस्तुत विषय यकिन गर्न सकिने अवस्था देखिएन,’ उल्लेख छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको थुनछेक आदेशमा पुडासैनीले कति समय अगाडि भिडियो रेकर्ड गरे र कति समय पछाडि झुन्डिएर आत्महत्या गरेका थिए भन्ने समय यकिन नगरी मृत्युकालीन घोषणा हो वा होइन भनी यकिन गर्न नसकिएको उल्लेख छ । शव परीक्षण गर्ने महाराजगन्ज शिक्षण अस्पतालका दुई चिकित्सक र भिडियोको फोरेन्सिक परीक्षण गर्ने नेपाल प्रहरी केन्द्रीय प्रयोगशालाका फरेन्सिक विशेषज्ञलाई विशेषज्ञ बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ ।