प्राथमिक तहको नतिजा यसै सातादेखि सार्वजनिक हुने

प्रकाशित मिति:

काठमाडौं – शिक्षक सेवा आयोगले यसै हप्तादेखि खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गर्ने जनाएको छ । विभिन्न जिल्लामा अन्तर्वार्ता हुँदा फाइलहरु आउन ढिला भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको छ । अन्तर्वार्ता पछि सबै जिल्लाका व्यक्तिगत फाइलहरु आयोगमा आएर त्यसको इन्ट्रीको काम सकिएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए । ‘इन्ट्रीको काम सकेर रुजुको काम शुरु भएको छ । सायद रुजुको काम यसै हप्ता सिद्धिन्छ । अनि नतिजा प्रकाशन गर्न शुरु गर्छौं’– डा. थपलियाले भने, ‘यसै हप्तादेखि अन्तिम नतिजा प्रकाशन शुरु गर्ने आयोगको तयारी छ ।’

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।