पेरुमा २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

प्रकाशित मिति:

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो । राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको हो । पुरातत्वविदहरुले यो स्थानमा गत वर्षदेखि उत्खननको काम शुरु गरेका थिए । हुआनचाकोमा प्रागऐतिहासिक कालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन् । यो स्थानमा बालबालिकाको बली दिने पुरानो चलन रहेको किंवदन्तीमा पढ्न पाइन्छ । ‘यो ठाउँमा बली चढाइएका बालबालिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक चिहान भेटिएको हो,’ प्रमुख पुरातत्वविद फारेन क्यास्टिल्लोले बताए ।

क्यास्टिल्लोले चारदेखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुशी पार्न बली चढाइएको बताए । उनले अझै पनि यस्ता चिहान भेटिन सक्ने बताए । ‘यो हृदयविदारक छ, बालबालिकामाथि यतिसम्मको अन्याय । जहाँ खन्यो, त्यहाँ बच्चाका अवशेष पाइन्छ,’ क्यास्टिल्लोले भने ।
यी बच्चाका शरीर सबैजसो समुद्रतर्फ फर्किएको अवस्थामा भेटिएका छन् । कतिपयको त अझै पनि छाला र कपाल भेटिएको छ । हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको थियो । यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो । पुरातत्वविदहरुले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज शहरमा सन् २०१८ मा भेटेका थिए । पाम्पा ला क्रुज हुआनचाकिटोबाट नजिकमा पर्दछ । हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो । चिमु सभ्यता पेरुको तटीय इलाकादेखि इक्वेडरसम्म फैलिएको थियो, तर इन्काहरुले परास्त गरेपछि चिमु सभ्यता सन् १४७५ मा पतन भएको थियो ।