मुल्य सुची नराखेर व्यापार ,गल्याङ बजारका पसल विना दर्ता संचालन

प्रकाशित मिति:

स्याङ्जा—बजार अनुगमनको जिम्मेवारी यती बेला स्थानीयतहलाई दिइएको छ । स्थानीय सरकार संचालन ऐनले उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन गर्ने जिम्मेवार तोकिदिएको छ । कालोबजारीका लागि भने प्रशासनले हेर्न पाउने प्रावधान रहेको छ । स्थानीयतहमा जनप्रतिनिधि आएपछि बजार अनुगमनमा खासै चासो दिएको पाईदैन । बजार अनुगमन हुन छाडेपछि व्यापारीहरुले कालोबजारी गर्न सजिलो हुने उपभोक्तहरु बताउछन् । चाडवाड नजिकिदै गर्दा अनुगमन गर्ने प्रशासन स्थानीयतहमा जनप्रतिनिधि आएपछि अनुगमनको पाटो स्थानीयतहको हो भन्दै पन्छिन थालेको छ । जसले गर्दा मुल्य बृद्धिले उपभोक्ताहरु निकै मारमा परेकबा छन् । उपभोक्ताहरुको गुनासो आउन थालेपछि गल्याङ् नगरपालिकाले बजार अनुगमनलाई चासो देखाएको छ । स्याङ्जाको तेस्रो व्यापारीक केन्द्रको रुपमा चिनिएको गल्याङ बजारमा नगरपालिकाले अनुगमनलाई चासो दिएको हो ।

अनुगमनका क्रममा कुनै पनि व्यापारीले मुल्यसूचि र पसल दर्ता नगरेको फेला पारेको छ । व्यापारीले जुनसुकै प्रकृतिको व्यापार संचालन गर्दा पसल दर्ता गर्ने र मुल्य सूची राख्नु पर्ने व्यवस्था रहेको छ । तर गल्याङ् बजारमा संचालमा आएका पसलहरु अधिकांश दर्ता र मुल्य सूची नभएको अनुगमन टोलीले फेला पारेको अनुगमन समितिका संयोजक ज्ञानप्रसाद पाण्डेले बताए । मुल्य सूची नराखी व्यापार गरेमा कालोबजारी गरेको अनुमान लगाउन सकिने पाण्डेको भनाई छ । नियममा उपभोक्ताले देख्नेगरी मुल्यसूचि राख्नुपर्ने व्यवस्था भएपनि व्यापारीले यसको उल्लंघन गरेको पाइएको छ । मुल्य सूची गल्याङ उद्योग वाणिज्य संघले उपलब्ध गराउने गरेको दावी गरेपनि कुनै पनि व्यावसायीले मुल्य सूची नराखेर मनपरी ढंगले समान विक्रि गर्दै आएका छन् । यता गल्याङ उद्योग वाणिज्य संघका उपाध्यक्ष ध्रुव श्रेष्ठले भने व्यापारीहरुलाई मुल्य सूची उपलव्ध गराएपनि नराखेको स्विकार गरे । दैनिकजसो मुल्यमा फेरबदल आइरहने भएकाले उद्योग वाणिज्य संघले उपलब्ध गराउने वार्षिक मुल्यसूचि पनि प्रभावकारी हुन नसकेको उपाध्यक्ष श्रेष्ठले बताए ।

अनुगमनका क्रममा पसलको नाम अङिकत नाम राखिएको बोर्ड नराखिएको, केही पसलहरु फोहोर तथा अव्यवस्थीत, दर्ता नगरी सञ्चालन भएका, म्याद अङिकत नभएका सामानहरु राखिएका फेला परेको पाण्डेले बताए । सामाग्रीको मुल्यमा पनि पसलै पिच्छे फरक फरक देखिएकोले अनिवार्य मुल्य सूची राख्न निर्देशन दिएको पाण्डेले जानकारी दिए । यो अनुगमन पहिलो पटक हो पाण्डेले भने,“अहिले व्यापारीलाई सचेत मात्रै गराएका छौं दोस्रो पटक पुन उस्तै फेला परेमा कारवाहि पक्रिया अगाडी बढ्ने छ ।” अनुगमनलाई निरन्तरता दिएर उपभोक्तालाई कालोबजारी हुन बाट जोगाउने प्रयत्न गर्ने छौं पाण्डेले भने । बजारका मासु पसल, किराना पसल, भाँडा पसल, मिठाइ पसल, होटल तथा खाजा घरमा अनुगमन गरिएको थियो । यो अनुगमनले व्यापारीहरुलाई सचेत गराएको विश्वास नगरपालिकाले लिएको छ ।