पौडेल अस्वस्थ भएपछि कांग्रेस बैठक सर्‍यो

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बिहीबारका लागि सारेको छ। बैठक बिहीबार अपरान्हसम्मका लागि स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा समयावधि सकिएका भात्तृसंस्थाहरु र जनसम्पर्क समिति लगायतबारे छलफल हुने कार्यसूची थियो।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाए।पार्टी कार्यालय सानेपामा संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले प्रविधि प्रयोग गरेर गरिएका कतिपय अभ्यासहरुको गोपनियता भंग हुने गरेको भन्दै मन्त्रिपरिषद् बैठक जस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न नसकिने बताएका हुन्।

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफै बैठकमा सहभागी हुनु संबैधानिक र कानूनी प्रक्रियागत रुपमा नै त्रुटी पुर्ण भएको ठहर कांग्रेसले गरेको छ। प्रवक्ता शर्माले गोपनियता भंग हुन सक्ने र न्यायपालिका र व्यवस्थापिकामा पनि यस्तै नजिर बस्न सक्ने भन्दै आपत्ती जनाए। उनले मन्त्रिपरिषद् बैठक सञ्जालन कार्यविधि हलुका ढंगले संशोधन गर्ने परिपार्टीले भविष्यमा वेथिति ल्याउने दाबी पनि गरे।