राम भण्डारी / बुटवल – नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ । दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने बताइएको छ । महामन्त्री पूर्णबहादुर खड्काले असारको २२ गते बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् । सुसुप्त भएका नेविसंघलगायतका भ्रातृसंस्थालाई पुनर्जीवन दिने तयारी कांग्रेसको छ । नेपाली कांग्रेसको भातृसंगठन नेविसंघ गत माघ महिनादेखि नेतृत्वविहीन छ ।
नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट राजीव ढुंगाना,ऋषिकेशजंग शाह, सरोज थापा, प्रेमराज जोशी सहितका नेताहरु तथा रामचन्द्र पौडेल समूहबाट मनोजमणि आचार्य, दीपक भट्टराई, हिमाल दत्त श्रेष्ठ , मोतिलाल भण्डारी लगायतका नेताहरु छन । त्यस्तै कृष्ण सिटौला समुहबाट कुन्दन काफ्ले,युबराज पाण्डे, डिल्ली सुबेदी लगायतका नेताहरु आकांक्षी रहेको स्रोतले जानकारी दियो । सबैभन्दा बढी विवाद रहेको नेविसंघको नेतृत्व तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवा आफैंले लिएका छन् । सभापति देउवा केन्द्रीय समितिको बैठकलगत्तै नेविसंघको नेतृत्व तोक्ने तयारीमा रहेको उनी निकट एक नेताले बताए । कांग्रेसको केन्द्रीय समितिको बैठक असार तेस्रो सातादेखि जारी रहेको छ ।