नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब

प्रकाशित मिति:

बाजुरा – संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एक सय ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ। आर्थिक वर्ष २०७५÷७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको हो। दुर्गम पहाडी क्षेत्रका महिलाले संस्थागत सुत्केरी गराएवापत पाउने रु तीन हजार र नियमित चारपटक गर्भ जाँचवापतको रु २०० का दरले ८०० गरी तीन हजार ८०० सहित न्यानो झोला पाउने व्यवस्था गरिएको थियो । गत चैत १ गते सुत्केरी गराए पनि उक्त भत्ता नपाएको पाण्डुसैनकी बिउरा रावलले बताइन्। उक्त नगरपालिकामा मात्रै १८८ महिलाले सुत्केरी गराएवापतको रकम पाएका छैनन् । तीमध्ये कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १३६, पाण्डुसैन स्वास्थ्यचौकीमा ३४ र बाँधु स्वास्थ्यचौकीमा १८ ले सो भत्ता नपाएका हुन्। उक्त रकम नगरपालिकामा आइसके पनि स्वास्थ्य संयोजकसहितको टोलीले खबर नगरेको आरोप सम्बन्धित स्वास्थ्यचौकीले नै लगाएका थिए।

सोही नगरपालिका–८ की आरती धामीले पनि उक्त भत्ता नपाएको गुनासो गरिन्। स्वास्थ्य शाखामा काम गर्नेहरुले माथिबाटै पैसा नआएको भनेकाले आफूहरुले पनि त्यही होला भन्ने सोचेर बसेको पाण्डुसैन स्वास्थ्यचौकीका इन्चार्ज नृपराज गिरीले बताए। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट १५४ ले सो भत्ता लिएको देखिए पनि अन्य कुनै पनि सुत्केरीले पाएका छैनन्। स्वास्थ्य संयोजककै लापरवाहीले उक्त भत्ता नपाइएको अधिकांशको गुनासो छ। संयोजक जसी लुहारले भने सबैलाई पुग्ने गरी रकम नआएकाले आधा पैसा नबाँडेको बताइन्। कतिलाई सो भत्ता दिन बाँकी छ भन्दा उनले नै अपुग सङ्ख्याबारे जानकारी नभएको बताइन्।

संयोजक लुहारले रु १३ लाख ५० हजार मात्र आएको बताए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुझ्दा भने रकम त्योभन्दा थप रु १५ लाख नगरपालिकामा पठाइ सकिएको जनाएको थियो । मन्त्रालयका योजना शाखा प्रमुख सूर्य खड्काले भने पहिलोपटक रु १३ लाख ५० हजार, दोस्रोपटक रु आठ लाख ९० हजार र तेस्रोपटक जेठ १७ गते रु आठ लाख ९० हजार गरी कूल रु २८ लाख ५० हजार उक्त नगरपालिकामा मात्र पठाइएको जानकारी दिए। नगरपालिकाका पदाधिकारी तथा स्वास्थ्य संयोजकले भने यसबारे कुनै जवाफ दिएनन् । प्रदेशको सम्बन्धित मन्त्रालयले असारमै उक्त भत्ता कम भए माग गर्न स्थानीय तहलाई सूचित गरेकामा कसैले पनि माग नगरेको बताइएको छ ।उक्त नगरपालिका उपप्रमुख सृष्टी रेग्मीले पनि आफूलाई थप पैसा आएकोबारे जानकारी नभएको र संयोजकले पैसा अपुग भएर नदिएको भन्ने मात्र खबर गरेको बताइन्। नगरपालिका निमित्त प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले आफूहरुलाई पैसा अपुग रहेको जानकारी मात्र गराइएको थप पैसा आए/नआएको थाहा नभएको जानकारी दिए। सुत्केरी भत्ता त्रिवेणी नगरपालिकाका ७७ र खप्तड छेडेदहका ३० जनाले नपाएको बताइएको छ । बूढीगङ्गा नगरपालिकाले थप भत्ता माग गरेकामा रु चार लाख खर्च नभएपछि फिर्ता पठाइएको त्यहाँका स्वास्थ्य संयोजक दीपक शाहले जानकारी दिए। बडीमालिका नगरपालिका र हिमाली गाउँपालिकाका सबै सुत्केरी महिलाले भने उक्त भत्ता पाइसकेका छन् ।