जनताप्रतिको धर्म र मर्मलाई प्राथमिकतामा राखेर काम गर्दा आइपर्ने समस्या भोग्न तयार छु : रवि लामिछाने

प्रकाशित मिति:

काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले अब थप प्रतिबद्ध र गम्भीर बनेर अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । उहाँले आफुहरुमाथि ठूलाे षडयन्त्र भएको दोहोर्‍याउँदै जनताप्रतिको धर्म र मर्मलाई अगाडि राखेर काम गर्दा आइपर्ने समस्याको सामना गर्न आफु जहिले पनि तयार रहेको बताउनुभयो । शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि बिहीबार बिहान कार्यस्थल न्यूज २४ टेलिभिजन फर्कँदै गर्दा सञ्चारकर्मी लामिछानेले मुलुक र जनताप्रति अझै प्रतिबद्ध र समर्पित बन्ने अठोट यो घटनाबाट पलाएको बताउनुभयो । न्यूज २४ टेलिभिजनको प्रांगणमा न्यूज २४ कर्मीहरुले गरेकाे स्वागत ग्रहण गर्दै सञ्चारकर्मी लामिछाने आफुहरु पक्राउ परेपछि न्यूज २४ कर्मीहरुले देखाएको ऐक्यबद्धता र साथ अविष्मरणीय रहेको बताउनुभयो ।

उहाँले आम जनताले गरेको विश्वासलाई धर्मराउन नदिने प्रतिबद्धता दोहोर्‍याउँदै आगामी दिनमा झनै जिम्मेवार बनेर अघि बढ्ने बताउनुभयो । उहाँले जनताप्रति सदैव समर्पित ‘सीधाकुरा जनतासंग’ कार्यक्रमका आगामी श्रृंखलाहरु पनि थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सञ्चारकर्मी लामिछानेसंगै पक्राउ पर्नु भएका अर्का सञ्चारकर्मी युवराज कँडेलले विना दोषको सजाय भोग्नु पर्दा मन विचलित बनेको चर्चा गर्दै केही दिन भय र त्रासमा गुजारेको स्मरण गर्नुभयो । उहाँले आफुहरुको गिरफ्तारी पछि न्यूज २४ का सहकर्मीहरुले केन्द्रदेखि जिल्लासम्म खेलेको भूमिका विर्सिनसक्नु रहेको उल्लेख गर्दै ‘सीधाकुरा जनतासंग’ कार्यक्रमप्रति अब थप जिम्मेवार र प्रतिबद्ध बन्ने भावना पलाएको बताउनुभयो । सञ्चारकर्मीद्धय लामिछाने र कँडेलको स्वागत गर्दै न्यूज २४ टिभीका समाचार प्रमुख राजेन्द्रदेव आचार्यले सञ्चारकर्मी लामिछानेले उठाउनु भएको मुद्दाले उहाँसँग सिंगो टेलिभिजन स्थापित बनेको चर्चा गर्दै आम जनताले दिएको समर्थनको सम्मानमा सिंगो टेलिभिजन परिवार जुट्नु पर्ने बताउनुभयो ।

सञ्चारकर्मीद्धय लामिछाने र कँडेलको स्वागतमा न्यूज २४ टेलिभिजनका सबै सहकर्मीहरुको उल्लासमय उपस्थिति थियो । कार्यक्रम सञ्चालन टिभी जर्नलिष्ट रिया भण्डारीले गर्नु भएको थियो  सञ्चारकर्मीद्धय लामिछाने र कँडेल हिरासतबाट रिहा भएपछि आफ्नाे समर्थनमा भएको प्रदर्शनकाे क्रममा घाइते भएकाहरूलाई भेट्न भरतपुरका विभिन्न अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । रवि लामिछाने निर्दोष रहेको दाबीसहित जनप्रदर्शन चर्किँदा केही समर्थक घाइते भएका थिए । सञ्चारकर्मीद्धय रिहा भएसँगै उनीहरूका समर्थकले देशका विभिन्न ठाउँमा खुसीयाली र्‍याली र धन्यवाद सभा गरे । साेमबार धरौटीमा रिहा भइसकेपछि सञ्चारकर्मीद्वय लामिछाने र कँडेलले समर्थकहरूका लागि मंगलबार चितवनमा धन्यवाद सभा कार्यक्रमको आयोजना गर्नुभयाे, जसमा हजाराैँकाे उपस्थिति थियाे । बुधबार काठमाडाैं विमानस्थलमा पनि बाजागाजासहित सञ्चारकर्मीद्वयलाई आफ्ना समर्थकहरूले स्वागत गरेका थिए । स्वस्फूर्तरुपमा निस्किएका र्‍यालीले ‘सत्यको जित भएको’ भन्दै नाचगान गरेर खुसीयाली साटासाट गरेका थिए । गत साउन २० गते चितवनको कंगारु होटेलमा मृत अवस्था फेला परेका शलिकराम पुडासैनीले आफ्नो आत्महत्यामा लामिछानेसहित कँडेल र कार्कीलाई दोषी रहेको आरोप लगाएका थिए ।