मुलुकबाहिरबाट शासन चलाउन मिल्दैनः निधि

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रमा मुलुक बाहिरबाट शासन चलाउन नमिल्ने बताएका छन् । ग्लोबल युथ एलायन्सले बिहीबार राष्ट्रियसभा भवनमा आयोजना गरेको ‘युवा र राजनीति’ विषयक विचार गोष्ठिमा उपसभापति निधिले सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेको प्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् । “लोकतन्त्रमा देशभित्रैबाट शासन चलाउन पर्छ, सिंगापुरबाट चलाउन पाइँदैन,” उनले भने, राष्ट्रियता सिंगापुरबाट होइन नेपालभित्रैबाट परिभाषित हुन्छ ।”

उपसभापति निधिले सिंगापुर जानुअघि संशोधन गरिएको सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई फिर्ता गरेर पूर्ववत् ढंगबाटै मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था गर्न सरकारसँग माग गरे ।“प्रधानमन्त्री उपचारका लागि सिंगापुर जानु केही दिन अघि देशका कानुनलाई अवैधानिक तरिकाले, अधिनायकवादी प्रवृत्तिबाट संशोधन गरेर मन्त्रिपरिषद् बैठक बस्नु खतराको संकेत हो,” उनले भने, “यो वयवस्था तत्काल सच्याउन माग गर्दछु । चेतावनीका साथ भन्छु– तुरुन्त संशोधन फिर्ता गरेर सरकारले पूर्ववत बैठक सञ्चालन गरोस् ।”

निधिले सरकारलाई आफ्नो निर्णय फिर्ता लिनका लागि दबाब सिर्जना गर्नुपर्ने आवश्यकता देखिएकोमा जोड दिँदै युवालाई खबरदारी गर्न आग्रहसमेत गरे । उनले प्रशन गरे, “यसैगरी भोलि सभामुख विदेश हुँदा उतैबाट संसद चलाउन खोजे, प्रधानन्यायाधिश विदेश हुँदा उतैबाट बेञ्च बसालेर न्याय सम्पादन गर्न खोजे के हुन्छ ?” सरकारले केही दिनअघि आप्mनो कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला ‘भिडियो कन्फरेन्स’लगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । सोही संशोधित व्यवस्थाअनुसार सोमबार ‘भिडियो कन्फरेन्स’ गरेर मन्त्रिपरिषद् बैठक बसेको थियो ।