कांग्रेस केन्द्रीय समितिको बैठक शुरु, भातृसंस्थाको अधिबेशनबारे छलफल

प्रकाशित मिति:

काठमाडौं –  वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएर बुधबार स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा बिहिबार दिउँसो सुरु भएको छ। आजको बैठकमा भातृ संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने, विधान अनुसार अवधि समाप्त भएका भातृ संघका सम्बन्धमा छलफल हुने छ। महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा छलफलका लागि १४ एजेण्डा पेश गरेका थिए। तिनै एजण्डमा छलफल शुरु भएको छ।

नेविसंघ विघटित अबस्थामा छ भने तरुण दल चार जना पदाधिकारीको भरमा चलेको छ। समयावधि सकिन चार महिना बाँकी रहँदा पनि तरुण दलको कार्यसमितिले पूर्णता पाउन सकेको छैन। नेविसंघको तदर्थ समिति गठन गर्नका लागि केन्द्रीय समितिले सभापति शेरबहादुर देउवालाई यसअघि नै अधिकार दिइसकेको छ। यसैगरी, नेपाल किसान संघ, नेपाल दलित संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ लगायतका भातृ संस्थाको पनि समय सकिइसकेको छ।