विडारीको प्रश्न, ‘गोपनियता भंग हुन्छ भनेर इन्टरनेट नै नचलाउने त ?’

प्रकाशित मिति:

काठमाडौँ — सत्ता पक्षका सांसद रामनारायण विडारीले संसारमा सीआईडी, खुफिया संस्थाहरु नेट, इन्टरनेटका माध्यमबाट चलिरहेको बेला मन्त्रिपरिषद्‌मा भिडियो कन्फ्रेन्सको विरोध गर्नुको औचित्य नरहेको बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद विडारीले सिंगापुरमा उपचाररत प्रधानन्त्री केपी ओलीले विदेशबाट मन्त्रिपरिषद्‌मा वार्ता, छलफल गरेको विषयलाई कांग्रेसले आत्तिएर सडक र सदनमा विरोध गरिएको भन्दै आपत्ति जनाए। ‘उपचाररत प्रधानन्त्रीले विदेशबाट वार्ता गर्‍या, छलफल गर्‍या सामान्य कुरामा आत्तिएर, सुरिएर, मात्तिएर विरोध किन? यो ठूलो कुरा थिएन’ सांसद विडारीले भने, ‘यसप्रकारको कुरालाई राष्ट्रिय मुद्दा बनाउनु उपयुक्त होइन। छैन। हुँदैन।’ भिडियो कन्फ्रेन्स कसरी, के केमा गर्ने निर्क्योल सरकारले गर्ने भन्दै यसको विरोध पानीको फोका जसरी फुट्ने टिप्पणी गरे। उनले भने, ‘बढी हावा भरिएको बेलुन प्याट्ट फुटैजस्तै, अब फुट्छ। यो विरोध टिक्दैन।’

विदेशबाट प्रधानमन्त्रीले मन्त्रिपरिषद्‌मा सामान्य संवाद गर्नु नेपालको इतिहासमा अग्रगामी सूचना प्रविधिको प्रयोग भएको दाबी गर्दै उनले यसमा विरोधको साटो गर्व गर्नुपर्नेमा जोड दिए। विकसित मुलुक चन्द्रमा, मंगलग्रहमा परीक्षण गर्न गएको उल्लेख गर्दै उनले सूचना प्रविधि मन्त्रिपरिषद्‌मा प्रयोग गर्दा गोपनियता भंग हुने भूतको छायाबाट नतर्सिन विपक्षीलाई आग्रह गरे। नेपालको जनसंख्या, सबै डाटैडाटाबाट चल्लिरहेकोले यसबाट गोपनियता भंग हुन्छ भनेर इन्टरनेट नचलाउने त? भन्ने प्रश्न गरे। ‘सूचना प्रविधिबाट गोपनियता गयो भन्ने हो भने संसारका सीआइडी स‌ंस्थाहरु, खुफिया स‌ंस्थाहरु कसरी चल्या छन्?’ उनको तर्क थियो, ‘यस्तो अवस्थामा गोपनियताको त्यत्रो डर !’ उनले संसारका जासुसी संस्थाहरु चलिरहेकोले भिडियो कन्फरेन्स उपयुक्त माध्यम भएको उनको दाबी थियो।

विडारीअघि बोलेका प्रमुख प्रतिपक्षी कांग्रेस सांसद राधेश्याम अधिकारीले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गर्नु आपत्तिजनक रहेको बताएका थिए। प्रधानमन्त्री उपचारका लागि सिंगापुर जानुअघि उपप्रधानमन्त्रीलाई कार्यवाहक दिनु, कार्यवहाक छँदाछँदै प्रधानमन्त्रीले बैठक सञ्चालन गर्नु र गोपनियता धरापमा पर्ने भएको आफूहरुले विरोध गरेको उनले प्रस्ट्याए। ‘औपचारिक रुपमा विदेशमा बसेर मन्त्रिपरिषद् बैठक बस्न सक्छ कि सक्दैन?’ उनले भने, ‘इन्टरनेटको माध्यमबाट गरिने यस्तो कार्यमा गोपनियता धरापमा पर्छ भन्ने कुरा जान्नका लागि आइटीकै विद्यार्थी भइरहनु पर्दैन।’ सांसद अधिकारीले आउँदा दिनमा यसप्रकारको गल्ती नदोहरिने प्रतिबद्धता सरकारसँग माग गरे। पछिल्लो पटक भिडियो कन्फ्ररेन्सबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गरिएपछि प्रतिपक्षी कांग्रेसले सडक र सदनमा विरोध गरिरहेको छ।