यातायात कार्यालयका कर्मचारी घुससहित पक्राउ परे

प्रकाशित मिति:

काठमाडौं । सेतीका यातायात व्यवस्था कार्यालय प्रमुखसहित तीनजना कर्मचारी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, अधिकृत भुवन जोशी र जयराज कारीगर रहेको प्रहरीले जनाएको छ ।

तीन जनालाई घुस लिदैँ गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको हो । सवारी साधन बिक्री गरी नामसारी गरिदिए वापत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु पक्राउ परेको अख्तियारले जनाएको छ ।उनीहरुको साथबाट १ लाख ६६ हजार १ सय रुपैयाँ बरामद गरेको अख्तियारले जानकारी दिएको छ । घुस वापतको १५ हजार र स्रोत खुल्न नसकेको १ लाख ५१ हजार १ सय रुपैँया कार्यालयबाट बरामद गरिएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान चलिरहेको अख्तियारले जनाएको छ ।