निजि विद्यालयहरुलाई निषेध गरेर शैक्षिक गुणस्तर माथि उठ्न सक्दैन–नेकपा नेता रायमाझी

प्रकाशित मिति:

बुटवल –नेकपा स्थायी समिति सदस्य तथा पुर्व उपप्रधानमनत्री टोप बहादुर रायमाझीले निजि शिक्षण संस्थालाई निषेध गरेर मुलुकको शैक्षिक गुणस्तर माथि उठ्न नसक्ने बताएका छन् ।राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसिएसन प्रदेश नं ५ द्धारा शुक्रबार बुटवलमा आयोजित प्रदेश स्तरीय अन्तर विद्यालय गायन प्रतियोगिता तथा सम्मान कार्यक्रममा बोल्दै उनले मुलुकको शैक्षिक विकासका लागि सरकारी र निजि विद्यालयहरुलाई सँगसँगै लैजान सक्नुपर्ने विचार व्यक्त गरे ।

निजि शिक्षण संस्थाहरुलाई निषेधै गरेर जानुपर्छ भन्ने चिन्तन पनि बेला बेलामा च्याउ उम्रे जस्तै उम्रने गरेको भन्दै रायमाझीले तर सो चिन्तन राख्नेहरु कमजोर रहेको दाबी गरे ।सरकारी शिक्षण संस्थाहरुमा गुणस्तरीय पठन पाठन हुन नसकेका कारण निजि शिक्षण संस्थाहरुप्रति आकर्षण बढेको बताउदै उनले निजि शिक्षण संस्थालाई निषेध गरिए शैक्षिक गुणस्तर माथि उठ्नुको सट्टा झन तल खस्कने र त्यसले बेरोजगार समस्या थप बढेर जाने बताए ।मुलुकमा राजनीति र व्यवस्थै परिवर्तन भए पनि पुरानो सोच र चिन्तनमा परिवर्तन नआएकोले जनताले परिवर्तनको अनुभूति गर्न नसकेको विचार व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसिएसन प्रदेश नं ५ का अध्यक्ष सुबोधकुमार डाँगीले मुलुकको शैक्षिक विकासमा निजि शिक्षण संस्थाहरुले खेलेको भूमिकालाई राज्यले सहि मुल्याङ्कन गर्न नसकेको गुनासो गरे ।मुलुकको शिक्षा नीति बनाउदा राज्यले निजि शैक्षिक संस्थाहरुसँग कुनै सरोकार नगरेको गनासो गदै अध्यक्ष डाँगीले आफुलाई शिक्षावीद् भन्ने केही व्यक्तिहरुले निजि शिक्षण संस्थाहरुलाई सरकार विद्यालयको बाधकको रुपमा प्रचार गर्ने प्रयास गरेको आरोप लगाए ।उनले निजि क्षेत्रलाई सँगसँगै अगाडी नबढाएसम्म मुलुक समृद्ध बन्न नसक्ने दाबी समेत गरे ।राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसिएसन प्रदेश नं ५ का अध्यक्ष सुबोधकुमार डाँगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य कृष्ण पौडेल,अभिभावक संघ नेपालका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली,एन प्याब्सन रुपन्देहीका अध्यक्ष देउप्रकाश राई लगायतले आ आफ्नो भनाई राखेका थिए ।कार्यक्रम एन प्याब्सनका केन्द्रीय सचिव समेत रहेका प्रदेश नं ५ सचिब कुशुम रानाभाटको सञ्चालनमा सम्पन्न भएको थियो ।प्रतियोगितामा ८ जिल्लाका १५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।