स्वास्थ्यको ख्याल गर्दै तीज मनाए पर्व रमाइलो हुने विशेषज्ञको सुझाव

प्रकाशित मिति:

काठमाडौँ –हरितालिका तीज समेत भनिने भाद्र शुक्ल तृतियाको दिनमा महिलाहरु आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै निराहार ब्रत बस्ने प्रचलन छ भने अविवाहित नारीहरु पनि राम्रो पति पाउँ भन्दै ब्रत बस्ने गर्दछन् । ब्रतका साथै तीजमा नाचगान पनि गरिने गरिन्छ । भोको पेट र नाचगानका कारण महिलाहरु बिरामीसमेत हुने गरेका छन् । त्यसैले आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै ब्रत बस्न विशेषज्ञहरुको सुझाव छ ।हाम्रो शरीरलाई दैनिक करिब २२७० ग्लुकोज शक्ति चाहिन्छ पेट खाली हुदाँ उक्त शक्ति शरीरमा भएको बोसोबाट प्राप्त हुने गर्दछ । यस्तो अवस्थामा प्रोटिन र केही भिटामिनको कमी मात्र हुन सक्छ तर एकदिनमा त्यसले कुनै गम्भीर असर गर्दैन । यद्यपि पहिलेदेखि नै कमजोर, रोगले च्यापेका तथा दीर्घरोगीहरूलाई एकदिनको निराहारले पनि निकै असर गर्न सक्छ । त्यसैले वृद्ध अनि कमजोर महिलाहरू व्रत बस्दा सचेत हुनुपर्छ । तिजको अघिल्लो दिन खाइने दरको परिकारमा पनि बिशेष ध्यान दिनुपर्ने बिज्ञहरु बताउछन्

सबै मानिसको शरीर एकै प्रकृतिको हुँदैन । कोही १२ घण्टासम्म पनि भोकै बस्न सक्छन् भने कोही ४ घण्टा पनि बस्न सक्दैनन् । धेरै समयसम्म भोकै बसेर एकैपटक आवश्यकताभन्दा बढी खानु स्वास्थ्यका दृष्टिले हितकर पनि हुँदैन । स्वस्थ मानिसले सामान्यतया ८ घण्टासम्म पानी मात्र खाएर अन्न नखाँदा पनि खासै फरक पर्दैन तर ग्यास्ट्रिक, मधुमेह, मुटुरोग, उच्च रक्तचाप, न्यून रक्तचाप दीर्घरोग भएकाहरुले चाहिँ ब्रत नबस्दा नै राम्रो हुने चिकित्सकको सल्लाह छ ।

निराहार ब्रत बस्दा शरीरलाइ अझ बढी पानी चाहिन्छ । नाच्दा वा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी बढी खेर जाने हुँदा यो अवस्थामा बढी पानी सेवन गर्नुपर्ने हुन्छ । व्रतालु महिलाहरू नाच्दानाच्दै ढल्ने वा मूर्छा पर्नुको कारण हाइपोग्लाईसेमिया ग्लुकोजको मात्रा कम हुनु० वा हिट सिन्कोप हो । यस्तो अवस्थामा पानी, ग्लुकोज पानी वा जीवनजल फाइदाजनक हुन्छ ।व्रत तथा उपवासका बेला अन्न नखाए पनि पानी, ग्लुकोज पानी, फलफूल आदि सेवन गर्न विशेषज्ञको सुझाब छ । तीजको आफ्नै मौलिकता र सांस्कृतिक विशेषता छ । स्वास्थ्यको ख्याल गर्दै तीज मनाए यो रमाइलो पर्वको रौनक संगै स्वस्थकर पनि हुन्छ ।