उपनिर्वाचनका लागि दल दर्ता आह्वान

प्रकाशित मिति:

काठमाडौँ –निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो ।आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा दलको लेखापरीक्षणलगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुन सबै दललाई आग्रह गरेको छ ।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएको आयोगले जनाएको छ ।आयोगका अनुसार, ०७४ को निर्वाचनमा सहभागी नभएका नयाँ दलका लागि मात्र दल दर्ता आह्वान गरिएको हो । यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलले भने उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्दैन ।यसअघि ०७४ मा तीन तहमा निर्वाचन भएको थियो । तर विविध कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५० स्थानहरू हाल रिक्त छन् । जनप्रतिनिधिविहीन बनेका स्थानमा उपनिर्वाचनमार्फत पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले आगामी मंसिर १४ गते निर्वाचन गर्ने घोषणा गरेको छ ।