भागबण्डाविरुद्ध नेविसंघको खबरदारी सभा

प्रकाशित मिति:

काठमाडौं । दलीय भागबण्डाले विश्वविद्यालयको शैक्षिक वातावरण धमिलिएको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले खबरदारी र्‍याली निकालेको छ। नेविसंघले माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म र्‍याली निकालेको हो। कार्यक्रमको संयोजन गरेका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले सभालाई सम्बोधन गर्दै नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा भएको आरोप लगाए। उनले दलीय भागबन्डा नरोकिए नेविसंघ कडा संघर्षमा उत्रने चेतावनी पनि दिए।

कार्यक्रममा प्रमुख वक्ता नेपाली काङ्ग्रेसका युवा नेता कुन्दनराज काफ्लेले नैविसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आव्हान गर्दै भागबण्डा कायम राख्‍ने पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लाग्ने चेतावनी दिए। फरक प्रसङ्गमा काफ्लेले पार्टी भित्र पनि नैतिकता र विधानको पालना नभए विद्रोह गर्ने पनि चेतावनी दिए। कार्यक्रमलाई नेविसंघ निवर्तमान उपसभापति रामप्रसाद अधिकारी र युवराज पाण्डेले सम्बोधन गरेका थिए। नेविसंघ नेता मनीष सिम्खडाले आफूहरुका माग कार्यान्वयन नभएसम्म चरणवद्ध आन्दोलन अगाडि लैजाने बताए। कार्यक्रममा नेविसंघ नेताहरु गोपी सिवाकोटी, विपिन अधिकारी, निमा गिरि, सुदीप शर्मा, हरि आचार्य लगायतको उपस्थिति थियो।