लाग्यो नेपाली टोली श्रृलंकातर्फ

प्रकाशित मिति:

आगामी भदौ १३ देखि २१ सम्म मलेसियामा हुने एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टोली सोमबार श्रीलंका प्रस्थान गरेको छ । श्रीलंकामा १० दिन रहँदा नेपालले तीन अभ्यास खेल खेल्नेछ ।

श्रीलंका प्रस्थान गर्नुअघि नेपाली टोलीलाई संघीय संसदका सभामुख कृष्णबहादुर महराले सोमबार बिहान आफ्नो सरकारी निवासबाट बिदाई गरेका छन् । उनले क्रिकेटले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेकोमा खुसी व्यक्त गर्दै अझै राम्रो प्रदर्शनका लागि शुभकामना समेत दिए ।

विदाईपछि पत्रकारसँग बोल्दै कप्तान पारस खड्काले यो प्रतियोगिता आफ्नो टिमका लागि निकै महत्वपूर्ण रहेको र अहिलेको लयलाई कायमै राखेर अगाडि बढ्ने बताए ।

‘भारत र पाकिस्तानजस्ता टिमसँग खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर हो, त्यो अवसरलाई गुम्न नदिने गरी छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेछौं ।’ कप्तान पारसले भने ।

उनले श्रीलंकामा हुने विशेष अभ्यासले टोलीको कमजोरी सुधार गर्ने अवसर हुने धारणा राखे । प्रतियोगिताका लागि नेपाली टोली दुई सातादेखि कीर्तिपुर मैदानमा अध्यासरत थियो ।

टोलीका सिनियर सदस्य शरद भेषावकरको अनुपस्थितिले टिममा असर पर्ने भए पनि उनको भूमिकालाई कभर गर्न सक्ने खेलाडीहरु टिममा रहेको बताए ।

साथै उनले एशियाली क्षेत्रमा अरु ठाँउको तुलनामा फरक बाताबरण हुने र लामो समयपछि एशियाली देशहरुसँग खेल्न लागेकाले सबै टिम बलिया भएको र आफूहरुले त्यही अनुसारको रणनीति अप्नाउने कप्तान पारसले बताए ।

नेपाली टिममा १४ खेलाडी सहित २० सदस्यसीय टोली श्रीलंका गएका हुन् । हाल सीपीएल खेलिरहेका सन्दीप लामिछाने भने उतैबाट भदौ १२ गते मलेसिया आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

नेपालले श्रीलंकामा श्रीलंकामा एक साताको अवधीका नेपालले स्थानीय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ । नेपालले अगष्ट २२ मा आर्मी क्रिकेट टिम, २४ मा ब्लुमफिल्ड र २६ मा कोल्ट क्रिकेट टिमसँग अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली उतैबाट अगष्ट २७ मा मलेसिया जानेछ ।

नेपालले अगष्ट २९ मा ओमानसँग खेल्दै एसिया कप छनोट सुरु गर्नेछ । एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागि टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।