चिनियाँ ह्याकरले चोरेको सबै रकम बरामद भयो : प्रहरी

प्रकाशित मिति:

काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले नेपालको एटीएम प्रणाली ह्याक गरेर चोरिएको सबै रकम बरामद गरेको दाबी गरेका छन् । नेपाल राष्ट्र बैंकले चोरी भएको बताएअनुसारको रकम बरामद भएको सुवेदीले जनाएका हुन् । सोमबार ठमेलबाट तीन जना मनी एक्सेजर पक्राउ परेसँगै केही रकम पनि बरामद भयो र राष्ट्र बैंकले चोरी भएको भने बराबरको रकम भेटिएको छ ।’ राष्ट्र बैंकले विभिन्न बैंकको एटीएम प्रणाली ह्याक गरेर १ करोड ६८ लाख रुपैयाँ चोरिएको जनाएको थियो । प्रहरीले शनिबार मध्यराति चलाएको अपरेशनबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि बरामद गरेको थियो । जय नेपालको होटल माया मनोहर बुटिकबाट पक्राउ परेका चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङले सुटकेश र झोलामा बोकेको अवस्थामा ती रकम बरामद भएका थिए ।

आइतबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट समूहका अर्का सदस्य सु लुसली पक्राउ परेका थिए । उनलाई पक्राउ गर्ने क्रममा पनि ६ हजार अमेरिकी डलर बरामद भएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटी बताउँछन् ।बयानका क्रममा ठमेलको सटही केन्द्रबाट रकम साटेको भेटिएपछि ३ जना नेपाली नागरिकलाई पनि पक्राउ गरिएको थियो ।पक्राउ पर्नेमा ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक सञ्चालक देवनाथ लामिछाने, नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी छन् ।उनीहरुको साथबाट २९ लाख ९९ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । ‘त्यसवापत २५ हजार ८ सय ६२ डलर चिनियाँ नागरिकले लगेको देखिन्छ’, एसएसपी सुवेदी भन्छन् ।अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेका व्यक्ति सबै भरिया हुन् । प्राम्भिक अनुसन्धानले मुख्य योजनाकार स्पेनमा बसेर नेपाली बैंकिङ प्रणालीमा ‘मालवेर एट्याक’ गरेको देखिएको छ ।पक्राउ परेका व्यक्तिलाई काम सम्पन्न गरे १० हजार युआन र १० प्रतिशत कमिशन दिने सहमति भएको बयानबाट खुलेको छ । पक्राउ परेकालाई नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले पनि भेटेका छन् भने प्रहरी अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अनलाईनखवरवाट साभार