दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव

१६ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
47 Shares


 काठमाडौं – सरकारले भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको छ ।यातायात व्यवस्था विभागले यसबारे छलफल गर्न व्यवसायीहरुलाई बुधबार बोलाएको छ । व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खुल्ने विभागमा महानिर्देशक गोगबहादुर हमालले जानकारी दिए । ‘व्यवसायीले राख्दै आएका धेरै मागहरु पूरा गरिसकेका छौं, त्यसैले बुकिङ प्रस्तावित मितिमै खोल्न सकिन्छ,’ उनले भने ।व्यवसायीहरुले भाडादर बढाउनुपर्ने माग गरेका छन् । विभागसँग भएका छलफलहरुमा उनीहरुले वैज्ञानिक भाडा समायोजनलगायतका मुद्दा उठाएका छन् ।दशैंको टिकट बुकिङ खुलाउने निर्णय हुनुअघि नै सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने माग अघि सारिने एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ ।

डेढ महिनाअघि सरकारले भाडादर समायोजन गरेको थियो । तर, ५ घण्टा नबित्दै निर्णय फिर्ता लिएको थियो । यातायात व्यवसायीले अब दशैंको अग्रिम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने व्यवसायीका धेरै मागहरु रहेको बताउँछन् । तर, सरकारले वातावरण तयार गरे बुकिङ खोल्ने बताए । ‘महासंघमा पनि यसबारे छलफल गरेर हामीले धारणा बनाउन बाँकी छ । बुधबार बस्ने बैठकमा हामी आफ्ना मुद्दाहरुबारे जानकारी दिन्छौं,’ उनले भने ।उनले सडकहरुलाई सुधार गरेर सवारी चल्न सक्ने बनाउन पनि सरकारको ध्यानाकर्षण गरिने बताए ।सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ । तर, यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग तस्र्याएर सरकारलाई दवाव दिने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया