रातो टीका निधारमा’ ट्रेलर रिलिज,साम्रागी गाउले भूमिकामा

प्रकाशित मिति:

काठमाडौँ –प्रदर्शनरत फिल्म ‘मारुनी’ बाट लोभलाग्दो प्रशंसा बटुलिरहेकी अभिनेत्री साम्राज्ञी आरएल शाहले भेट्रान निर्देशक अशोक शर्माका छोरा अंकितसँग रोमान्स गरेको फिल्म ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ । असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले वैदेशिक रोजगारीको कथा वाचन गर्ने ट्रेलरले प्रस्ट्याउँछ । ट्रेलरमा देखाइए अनुसार अभिनेत्री साम्राज्ञीले यो फिल्ममा गाउँले युवतीको भूमिका निभाएकी छन् । उनले पहिलो पटक यस प्रकारको भूमिका निभाएकी हुन् । अंकित भने वैदेशिक रोजगारीमा पठाउने एजेन्टको भूमिकामा छन् । कमेडी फ्लेवरमा तयार पारिएको ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता र कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ ।

साम्राज्ञी र अंकितसँगै यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । अशोक शर्मा निर्देशित फिल्मको गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा।कृष्णहरि बराल र रवि मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृति फिल्मकी सहायक निर्देशक हुन् । मित्र देव गुरुङको काँधमा सम्पादनको जिम्मेवारी छ ।

यो फिल्ममा झण्डै २ दशक अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश चर्चित गीत ‘रातो टीका निधारमा’ लाई रि एरेञ्ज गरेर राखिएको छ । केही दिनमा उक्त गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । फिल्म ‘जय भोले’ मा सहायक निर्देशक भएर काम गरेका निर्देशक शर्माका छोरा अंकितले यही फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् ।