मन्त्री भट्टराईले आफूलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न लगाएपछी …

प्रकाशित मिति:

काठमाडौं – आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलासँगै भरतपुर विमानस्थल उत्रिए। सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलपुगेका थिए । जब जहाज रोकियो दुवै नेता सँगै विमानबाट झरे। उनीहरू गफिदै अघि बढ्दै गर्दा स्वागत गर्न प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत पुगे। बहालवालामन्त्री भएकाले बस्नेतले आफ्नो हातको खादा मन्त्री भट्टराईतर्फ जब लगे, मन्त्री भट्टराईले रोक्दै सिटौलातर्फ देखाउँदै भने, ‘पहिला दाइलाई ।’ उनको भनाइसँगै बस्नेतले सँगै रहेका सिटौलालाई त्यही खादा पहिले ओडाए अनि मन्त्री भट्टराईलाई अर्को खादा ओडाए।

यो सबै हेरिरहेका नेता कार्यकर्ता स्तब्ध देखिए। दुई खादा र फूल बोकेका धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फूलले स्वागत गरे । जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिँदै सम्मानको भावसँगै मन्त्री भट्टराई बाहिरिए। चितवन २ का सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका सचिव कृष्णभक्त पोख्रेलले पनि पहिले सिटौलालाई खादाले स्वागत गरे।

उनले भने, ‘म अत्यन्तै सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ, लोकतन्त्र र गणतन्त्र यही पार्टी मिलेर ल्याएका हौं, अब हामी समृद्धिका लागि पनि मिल्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।’ नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विपक्षी दलका नेतालाई जुन सम्मान मन्त्री भट्टराईले दिए यसले मुख्य दल मिल्नुपर्छ भन्ने सन्देश प्रवाह भएको बताए। मन्त्री भट्टराई भरतपुर विमानस्थल विस्तारसम्बन्धी छलफल कार्यक्रममा र सिटौला पार्टीको समायोजनसम्बन्धी कार्यक्रममा सहभागी हुन चितवन आएका हुन्।