आयोगले दियो प्रवेशपत्र सच्याउन पुनः मौका

प्रकाशित मिति:

भक्तपुर – शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र सच्याउन पुनः मौका प्रदान गरेको छ । सोमवार एउटा सूचना जारी गर्दै आयोगले भाद्र २० गतेसम्म प्रवेशपत्र सच्याउन सकिने जनाएको हो । आयोगले भाद्र ६ गते अनलाइनमा प्रवेशपत्र सार्वजनिक गर्दै त्यसमा त्रुटि भए सच्याउनका लागि ३ दिने म्याद दिएको थियो । आयोगले प्रदेश नम्बर १ र २ का परीक्षार्थीहरुले भदौ ५ देखि ९ गतेसम्म, प्रदेश ३ काले १० देखि १२ गतेसम्म र गण्डकी प्रदेशकाले भदौ १३ देखि १५ गतेसम्म प्रवेशपत्र हेर्न र संशोधन गर्न सक्ने जनाएको थियो ।

यस्तै, प्रदेश ५ का ले भदौ १६ र १७ मा साथै प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेशका परीक्षार्थीले भदौ १८ देखि २० गतेसम्म प्रवेशपत्र हेर्न र त्रुटि भए सच्याउन पाउने जनाइएको थियो । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन सकिने आयोगले जनाएको थियो । सोमवार एक सूचना जारी गर्दै आयोगले भाद्र २० गतेसम्म प्रवेशपत्रको विवरण सच्याउन पाउने जनाएको हो ।