बाढिले पुल वगाएपछी मुढामा जोखीम मोल्दै यात्रा

प्रकाशित मिति:

भाद्र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका तातोपानीकी ६९ वर्षीया सुनमाया शेर्पाले घर फर्किनको लागि खुबै त्रास झेल्नुपर्‍यो । शनिबार बेलुकी नै बिरामी नातीलाई भेटेर फर्किन लाग्दा खोलामा पानीको बहाव बढेपछि बजारमा अड्कीएकी उनले बल्ल आइतबार बिहान रुखको मुढाको पुल तरेर बाह्रबिसेबाट पारी तर्न सकिन् । थोरै ज्वरोको समस्या बोकेर यहा आएकी उनले रातको भागदौड सम्झदा ज्युुदो घर फर्किन्न जस्तो लागेको सुनाइन् । ‘धन्न घर फर्किन पाइयो, यसरी सकुशल फर्किन्न जस्तो लागेको थिइन्, ‘उनले आकाशतर्फ इशारा गर्दै भनिन्, दैवले बचाए । मुढामा बल्लतल्ल टेकिएर तरिसकेपछि उनको यात्रा बल्ल सुरु हुन्छ । ‘उताबाट नौकिलोबाट गाडी जादैन्, पूरा हिँडेर यात्रा गर्नुपर्छ,’ उनले भनिन् । उनकाअनुसार कोदारी राजमार्गको डाक्लाङ, महभिर, चाकु हुदै नौकिलो दशकिलो, पिप्लाङ जस्ता सडकपिच्छै कटान भएको छ । जनताको आवश्यक काम लिएर कर्थली गाउँ हिँडेका बाह्रबिसे नपा कर्थलीका वडाध्यक्ष बमबहादुर तामाङ मुढामा टेकेर उक्लिदै थिए । ‘के गर्ने यहाँ त प्रकृतिले नराम्रोसँग ठग्यो, आजाउ गर्न मुस्किल बनाएर छाड्यो के गर्ने होला उनले भने । सिन्धुपाल्चोक जिल्लाले वर्षैपिच्छै नयाँ विपत्ती व्यहोरेको र यसको लागि के गर्ने सोच्न नसकेको उनले सुनाए । ‘पहिले जुरे त्यसपछि भूकम्प अनि भोटेकोसी बाढी क्रमश आपत आइलागिरहेको छ, उनले भने । दैनिक पहिरो झेलिरहेपछि सीमाक्षेत्र तातोपानी बासीले जस्तै पुरानो तुइन र फ्लेक चढेर यात्रा गरेको कुरालाई सम्झिएको उनको कथन छ । बाह्रबिसे नगरपालिकाको वडा ३ भिरकुना र ४ कोसिनडाँडा हुँदै बग्दै आउने साँधी खोल्सामा पहिरो लागि थुनिँदा आएको बाढीले पुल बगाएपछि यस क्षेत्रका सवारीसाधन ठप्प भएका छन् । सवारीसाधन जाने सडक नहुँदा विशेष गरी बिरामी बालबालिका वृद्धदेखि सुत्केरीलाई समस्या परेको बाह्रबिसेका ट्राफिक राधेश्याम जंगम सुनाउछन् । ‘भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको कर्थली घोर्थलीजस्ता दुुई दर्जन गाउँबाट आउने यात्रु यसरी नै जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् उनले भने । पुलको संरचना र लेदो बगेर भोटेकोसी छेउमा थुपारेकाले साँघुरिएको र कोसी थुनिएर डुब्ने त्रासमा बजारबासी रहेको उनले प्रष्ट्याए । सडक निर्माणको प्रयास जारी आहिले सडकमा गिर्खा, बालुवा र हिलोले क्षति पुर्‍याएको चार वटा एक्जाभेटरद्वारा पन्छाउने र बाटो बनाउने कार्य धमाधम भइरहेको छ । ‘साँधी खोल्सामा ढुंगा राखेर सडकको स्तरमा मिलाउने कार्य भइरहेको छ,’ चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख अशोक तिवारीले भन्नुभयो । तत्कालै बेलिब्रीज प्रबन्ध गर्न नसकिने भएकाले अस्थायी ट्रयाक खोल्ने तरखरमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘ड्याम बनाएर पानीको बहाब कम गर्दै कुनातर्फबाट सडक बनाइनेछ पानी नरोकिने अवस्था आएमा २१ मिटर लामो बेलिब्रीज हालिनेछ । स्थानीयको गुनासो जायज रहेको र पुललाई चाँडै सञ्चालनमा ल्याउनको लागि आफूले गर्नसक्ने सम्पूर्ण पहलकदमी लिइरहेको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख शुसिला पाख्रिनले बताउनुभयो । उहाँले भन्नुभयो यस्तो आपतको चाँडैभन्दा चाँडै समाधान गरिनु जरुरी छ, यसको लागि सडक डिभिजनदेखि केन्द्रीयस्तरमा दबाब दिइरहेको छु ।