चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउदै

प्रकाशित मिति:

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुने हल्लाकै बीचमा चीनका विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङ इस्लामावादमा हुने पाकिस्तान–अफगानिस्तान–चीन त्रिपक्षीय बैठकमा सहभागी भएर आइतबार साँझ काठमाण्डु आउने तय भएको छ।

विदेशमन्त्री वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको तयारीका लागि काठमाण्डु आउन लागेको हुन । यसअघि चीनीया सुरक्षाकर्मीहरुको टोली पनि काठमाण्डु आएर फर्किएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउन लागेका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ। त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्नेछन्।‘विदेशमन्त्रीको भ्रमणमा दुई पक्षबीच सम्भावित द्विपक्षीय सम्झौता, चिनियाँ परियोजना बिआरआईबारे थप समझदारीबारे छलफल हुनेछ’, स्रोतले बतायो । चिनियाँ राष्ट्रपति सीले अक्टोबर ११ बाट भारतको पाँच दिने भ्रमण सुरु गर्दैछन्। यो भ्रमणको समयमा अगाडि वा पछाडि राष्ट्रपति सी नेपाल भ्रमणमा आउने अपेक्षा गरिएको छ। यसका लागि काठमाण्डुमा सुरक्षा तयारी थालिएको छ।