नेकपालाई गगनको आग्रह : प्रधानमन्त्रीलाई आराम गर्न दिऊँ

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेका छन् । बुधबार संसदको विषय समयमा बोल्दै उनले सिंगापुरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरे । साथै विदेश उपचार गर्नु परेमा सरकारले उपचार खर्च नव्यहोर्ने कानुन पालना गरेकोमा धन्यवाद दिए । तर प्रधानमन्त्रीको उपचारबारे सरकारले संसदलाई यथार्थ जानकारी नगराएको भन्दै असन्तुष्टि जनाए । प्रधानमन्त्रीका निजी चिकित्सकलाई उद्धृत गर्दै आएका समाचारहरुका आधारमा स्वास्थ्य सुधार उन्मुख रहेको अनुमान लगाउन सक्ने भन्दै उनले सम्पूर्ण सुधारको कामना गरे । उनले अघि भने, ‘मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको सक्रियता, इच्छाशक्ति र योगदान संसारका लागि नमूना बनोस् ।’

तर केही चिकित्सकले संकेत गरेको जस्तो पटकपटक विदेश गएर वा विश्राम लिएर उपचार गर्नु पर्ने भए के गर्ने भन्ने प्रश्न उठाए । प्रधानमन्त्री आलंकारिक पद नभएको र पछिल्लो समय कार्यबोझसमेत बढाइएको भन्दै उनले भने, ‘उहाँले यो सबै गर्ने इच्छाशक्ति राख्नुहुन्छ भन्नेमा दुईमत छैन । तर इच्छाशक्ति मात्र सबै कुरा होइन । शारिरीक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ ।’ प्रधानमन्त्री राष्ट्रिय सुरक्षा, अखण्डता, सार्वभौमसत्ताको कस्टोडियन भएको भन्दै कांग्रेस सांसद थापाले भने, ‘कार्यकारी प्रमुख एकै पटक लामो समयसम्म देश बाहिर बस्दा राष्ट्रिय सुरक्षा, कूटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त छँदैछ, प्रत्येक २/३ महिनामा १०/१२ दिन विदेश गएर टेलिप्रिजेन्टमार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाएर शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।’

सत्तारुढ नेकपासँग बहुमत भएको र पार्टीमा प्रधानमन्त्री भइसकेका र हुने इच्छा राख्ने व्यक्तिहरु पनि भएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई किन विश्राम दिन नचाहेको भन्ने प्रश्न गरे । नेकपाका सांसदहरुले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको भन्दै उनले भने, ‘प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनु भएको भए के भन्थ्यौं ? बा, धपेडी नगर्नुस् । आराम गर्नुस् । विश्राम लिनुस् ।’ ‘हामी हाम्रो बालाई त्यसो भन्छौं तर प्रधानमन्त्री बालाई यसो भन्न किन सक्दैनौं ? यो गल्ती हिजो हामीले पनि गर्‍यौं । र, सबैभन्दा बढी नजिक बस्ने मान्छेले अन्याय गर्‍यो । यो अन्याय तपाईहरु नगर्नुस् । प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस् ।’ प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रियामा योगदान पुर्‍याएको तथा स्वाभिमानको लडाइँमा अथक योद्धाका रुपमा काम गरेका ओलीलाई लामो समय अभिभावकका रुपमा हेर्न चाहेको उनले बताए । सांसद थापाले भने, ‘प्रधानमन्त्रीको मनको इच्छाको सम्मान गर्छु र फेरि पनि कामना गर्छु कि फर्किएर आएपछि प्रधानमन्त्रीले रोष्टममा उभिएर हामीलाई बताइदिने अवस्था बनोस् । हामी सबै प्रार्थना गर्छौं कि विश्राम नलिन, काम गर्न सक्ने हुनुहोस् । आवश्यकता पर्दा २४/७ काम गर्न सक्ने हुनुस् । तर त्यस्तो अवस्था आउँदैन भने …।’