सत्तारुढ सांसदकै प्रश्न– भेनेजुएलामा बोलेको सरकार काश्मीरमा किन चुप ?

प्रकाशित मिति:

काठमाडौं – सत्तारुढ दल समाजवादी पार्टी नेपालकी सांसद रेणुकुमारी यादवले आफ्नै पार्टी सम्मिलित सरकारको विदेश नीतिमाथि प्रश्न उठाएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले कुनै पनि देशको विदेश नीति ठोस हुने भन्दै नेपालको विदेश नीति भने खोक्रो र हास्यास्पद भएको टिप्पणी गरिन् । “कुनै पनि देशको विदेश नीति ठोस हुन्छ । तर, हाम्रो विदेश नीति खोक्रो र हास्यास्पद भइरहेको छ,” हिन्दीमा बोलेकी उनले भनिन्, “भेनेजुएला प्रकरणमा अभिव्यक्ति दिन्छौं तर भारतको काश्मीर मामलामा मौनता साँध्छौं । यही हो विदेश नीति हो ? ठोस विदेश नीति हुनुपर्छ ।” चीन र भारतको विकास र प्रगति दिनानुदिन बढिरहेको भन्दै नेपालको प्रष्ट विदेश नीति नभएको उनले बताइन् । त्यस्तै अर्थनीति पनि ठिक नभएको भन्दै उनले आलोचना गरिन् ।

महँगी र भ्रष्टाचार सरकारले नियन्त्रण गर्न नसकेको, शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै सांसद यादवले सरकारको कामकारवाहीमा असन्तुष्टि जनाइन् । वाइडबडी होस् वा सुनकाण्डको सत्यतथ्य बाहिर नल्याइएको भन्दै उनले सरकारले भ्रष्टाचारमा इतिहास बनाउन लागेको बताइन् । “जनताले बहुमतको सरकार बनाएका छन् । इतिहास दोहोरिँदैन । तर, बहुमतको सरकार भ्रष्टाचारमा आफ्नो इतिहास बनाउँदैछ,” उनको आरोप थियो । त्यस्तै, उनले प्रहरी प्रशासनको पनि चर्को आलोचना गरिन् । प्रहरी प्रशासनले सत्तारुढ दलको भा्रतृ संगठनको काम गरिरहेको भन्दै उनले भनिन्, “जसलाई बाहिर राख्नुपर्ने हो, उसलाई भित्र राखिएको छ । जो भित्र हुनुपर्थ्यो, उm बाहिर छ । ” नेपाल कृषिप्रधान देश भए पनि किसानले सहज रुपमा मलखाद नपाएकोतर्फ पनि उनले ध्यानाकर्षण गराइन् । सरकारले जनतालाई सेवा प्रवाह गर्न नसकेकाले सरकार असफलतातिर गइरहेको यादवको टिप्पणी थियो । सरकार बनेको दुई वर्ष भएपनि जनतालाई केही दिन नसकेको उनको आरोप थियो ।

संविधान संशोधनमा ठग्ने काम भयो संविधान संशोधन गर्ने सहमतिसहित तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको थियो । तर, अहिलेसम्म संविधान संशोधनको प्रक्रिया अघि बढेको छैन । त्यसप्रति पनि सांसद यादवले असन्तुष्टि व्यक्त गरिन् । प्रधानमन्त्री केपी ओली र अन्य दलहरुले पनि संविधान संशोधनको कुरा गर्ने गरे पनि २ वर्षसम्म त्यसमा गम्भीरता नदेखिएको भन्दै उनले आपत्ति जनाइन् । “संविधान संशोधन हुनुपर्छ भनेर प्रधानमन्त्री पनि भन्नुहुन्छ । तर, दुई वर्ष भयो संविधान संशोधनको कुनै चर्चा छैन । कुनै गम्भीरता छैन,” उनले भनिन्, “ यसरी जनतालाई ठगेर, खोक्रो कुरा गरेर देश चल्छ ?” संविधान संशोधन नहुने, नागरिकता विधेयक अघि नबढ्ने, जनतालाई सेवा प्रवाह नहुने हो भने सरकारलाई साथ दिन नसकिने उनले चेतावनी पनि दिइन् ।