गाँजा ‘नखानू भन्दा’ ग्राहकले वेटरलाई २ तलाबाट खसालेर भागे

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंको कलंकीस्थित नारायणी गेस्ट हाउसमा सोमबार राति १० बजे बास बस्न आएका पाँच जना युवाले वेटरलाई दुई तलाबाट खसालेका छन् । ती युवा राति अबेरसम्म मदिरा सेवन गरेर होटलमा आइपुगेका थिए। काउन्टरमा वेटर विवेक सोनामले उनीहरूले बास बस्ने भनेपछि दोस्रो तलाको ९०५ र ९०७ नम्बरको कोठा खोलिदिए। केहीको परिचय–पत्र थियो कसैको थिएन। गेस्ट हाउस सञ्चालक नारायण पुडासैनीका अनुसार त्यसपछि उनीहरूले कोठामै गाँजा सल्काउन थाले। वेटर विवेकलाई खाना अर्डर गरेर उनीहरुले मोज गरिरहेका थिए ।

विवेकले ‘यहाँ गाँजा खान मिल्दैन, दाइले कराउनुहुन्छ’ भनेका थिए। तर, ती युवा उनीमाथि अपशब्द प्रयोग गर्दै आक्रोशित युवाले विवेकमाथि हातपात गर्न थाले। विवेकले कुटपिटकै क्रममा पुडासैनीलाई फोन लगाएका थिए। फोनमा उनी रोएको सुनेपछि पुडासैनीले महानगरीय प्रहरी वृत्त कालिमाटीलाई खबर गरेका थिए । प्रहरी आइनपुग्दै विवेकलाई दुई तलामा लगेर ती युवाले भुइँमा खसालिसकेका थिए। विवेक भागेर दुई तलामाथि पुग्दा उनीहरूले समातेर त्यहीँबाट खसालिदिएका थिए ।

विवेकलाई उठाएर प्रहरीको भ्यानमा शहीद मेमोरियल अस्पताल लगियो। एउटा भ्यानमा विवेकलाई अस्पताल लगेर प्रहरीको अर्को भ्यानले ती युवाको खोजी थाल्यो। ‘काउन्टरमा जाँदा त परिचय पत्रहरू केही पनि थिएन, रेकर्ड खाता पनि थिएन,’ पुडासैनीले भने। महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार सोनामलाई दुई तलाबाट खसाल्ने मकवानपुरका विनय लामा, गुल्मीका सविन अर्याल र रामेछापका निशान धमलालाई पक्राउ गरिसकिएको छ। अन्य दुई जना फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।