वर्ल्डभिजनको अठार वर्षपछि रुपन्देहीबाट बहिर्गमन

प्रकाशित मिति:

झविन्द्र देवकोटा/बुटवल – वल्र्डभिजन इन्टरनेशनल नेपाल बुटवल क्षेत्र विकास कार्यक्रमको १८ वर्षपछि रुपन्देहीबाट बहिर्गमन भएको छ । विगत १८ वर्षदेखि रुपन्देही जिल्लामा विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको वल्र्ड भिजनका सम्पुर्ण परियोजनाहरु सकिए लगतै बुधबारदेखि रुपन्देहीमा कार्यक्रम संचालन गर्न नपाउने भएको हो । वल्र्ड भिजनले सन् २००२ देखि रुपन्देहीमा काम गर्दै आएको थियो । पछिल्ला वर्षमा रुपन्देहीका तिलोत्तमा नगरपालिका,सियारी   र शुद्धोधन गाउपालिकाका विभिन्न वडाहरुमा काम गर्ने आएको बुधबार भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । वल्र्डभिजनका जनसम्पर्क निर्देशक पुष्कर खातीले वल्र्डभिजन बुटवल क्षेत्र विकास कार्यक्रम अन्तरगत भएका गतिविधिहरु प्रभावकारी भएतापनि परियोजनाहरु सम्पन्न भएकाले जिल्लाबाट बहिर्गमन हुनु परेको बताए । उनले रुपन्देहीबाट बहिर्गमन भएतापनि देशका अन्य १३ जिल्लामा कार्यक्रम संचालन भई रहेको जानकारी गराए । वल्र्ड भिजनले रुपन्देहीमा सुनगाभा सामुदायिक विकास केन्द्र, सिद्धार्थ सामुदायिक विकास केन्द्र, सेतो गुरास बालविकास केन्द्र, सृजनशिल आदर्श समाज, तराई विकास मञ्च, इन्द्रेणी विकास केन्द्र र नमुना एकिकृत विकास परिषद् संगको समन्वयमा रुपन्देहीका विभिन्न सामाजिक कार्यक्रमहरु गरेको थियो ।

वल्र्डभिजनले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा खानीपानी, सरसफाई तथा स्वच्छता, जिविकोपार्जन, शिक्षा, विपद् जोखिम न्यूनिकरण, एचआईभि एड्स रोकथाम, बाल स्पोन्सरसीप तथा युवा विकास, मातृशिशु स्वास्थ्य लगायतका कार्यक्रमहरु गर्दै आएको थियो । वल्र्डभिजनले रुपन्देहीको बुटवलमा क्षेत्र विकास कार्यक्रम संचालन गरेपछिमात्र वितेको १८ वर्षमा ३९ लाख १७ हजार ७ सय अमेरिकी डलर (हालको करिव ४५ करोड बढी नेपाली रुपैया) परियोजनाका लागि खर्च गरि सकेको जनसम्पर्क निर्देश खातीले बताए । कार्यक्रममा वल्र्डभिजनको साझेदार संस्था नमुना एकिकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेलले रुपन्देहीबाट वल्र्डभिजन बहिर्गमन हुनु सुखद् पक्ष नभएको बताईन् । उनले सामुदायिक सचेतनाका क्षेत्रमा राम्रो काम गरेको वल्र्डभिजनको साझेदारिमा नमुनाको विभिन्न परियोजनामा कार्य गर्दै आएका डेढ दर्जन कर्मचारी समेत प्रभावित बनेको बताईन् । सामुदायिक सचेतनाको क्षेत्रमा प्रभावकारी काम गर्दै आएको वल्र्डभिजनको पुर्नागमन हुनु पर्ने सुझाव पौडेलले दिएकी छन् । वल्र्डभिजन इन्टरनेशनल नेपाल बुटवल क्षेत्र विकास कार्यक्रम अन्तरगतका रुपन्देहीमा संचालित सम्पुर्ण परियोजनाहरु भदौ १८ अर्थात सेप्टेम्बर ४ मा सकिएका छन् ।

थप समाचार