सनराईज बैंकद्धारा उद्योगी तथा कर्मचारीहरुलाई लेखा तथा कर निती सम्बन्धी अभिमुखीकरण

प्रकाशित मिति:

सनराईज बैंक लिमिटेडले बुटवलका उद्योगी व्यबसायीलाई आधारभूत लेखा तथा कर नीति सम्बन्धि प्रशिक्षण गरेको छ । करिव २ सय उद्योगी व्यबसायी सहभागि रहेको उक्त प्रशिक्षणमा चार्टर एकाउन्टेन्ट सुगम पोखरेलले बदलिँदो परिस्थितीमा लेखा तथा कर नीतिका बारेमा जानकारी गराउनु भएको थियो ।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै रुपन्देहीको देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले लेखाले आफ्नो उद्योग व्यबसायलाई छर्लङ्ग देखाउने बताउँदै लेखा र कर प्रणालीका बारेमा जानेर काम गर्न आग्रह गर्नुभयो । उहाँले बस्तु कसरी उत्पादन गर्ने, उत्पादन गरेको बस्तुको बजार लगायतका बिषमा उद्योगी व्यबसायीले चिन्ता गरेपनि लेखा प्रणालीका बारेमा खासै ध्यान नदिँदा आफ्नो उद्योग व्यबसायको अवस्था यकिन गर्न समस्या भएको बताउनु भयो ।
उहाँले अहिले मुलुकमा लगानी आकर्षण गर्ने समय भएपनि तीन तहका स्थानीय, प्रदेश र संघीय सरकारले त्यसतर्फ खासै ध्यान नदिएको उल्लेख गर्नुभयो । उहाँले कानुन बनाउँदै गर्दा तीन तहले निर्माण गर्ने कानुन आफसमा बाझ्ने समस्या पनि उत्तिकै देखिएको बताउँदै कतिपय स्थानमा दोहोरो कर प्रणालीले व्यबसायीलाई उत्तिकै समयस्या भएको उल्लेख गर्नुभयो ।
मेयर खत्रीले सरकारले बनाउने कर प्रणालीले व्यबसायीलाई तर्साउन नहुने बताउँदै लगानी अभिबृद्धिकालागि उद्योगी व्यबसायीलाई विश्स्वत पार्नुपर्ने भनाई राख्नुभयो । ‘उद्योगी व्यबसायीलाई कसरी ढुक्क बनाउन सकिन्छ, त्यसतर्फ सरकारले सोंच्नुपछ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष यमलाल लोहोनी, नेपाल उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष प्रविण पाठक लगायतले भनाई राख्नुभएको थियो ।
मुलुकको परिवर्तित व्यबस्था अनुसार उद्योगी व्यबसायीमा अन्यौलता देखिएकाले उद्योगी व्यबसायीमा वित्तिय जागरणकालागि बैंकले तीन वर्षदेखि अभियान सञ्चालन गर्दै आएको बैंकका बुटवल शाखा प्रवन्धक राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।