बागेश्वरीका शुशिल लोक स्टारको टप टेनमा ,भोट गरेर जिताउन परिवारको आग्रह

प्रकाशित मिति:

बुटवल, । बुटवलका शुशिल आचार्य नेपाल लोक स्टारको टप टेनमा पुगेका छन् । शुशिल बुटवलको बागेश्वरी संगीतालयमा संगीतमा ब्याचलर तहका प्रशिक्षार्थी हुन् । लोक स्टारको टप टेनमा पुगेका सुशीललाई उक्त प्रतियोगिताको विजेता बनाएर बुटवलको मात्र नभई प्रदेश ५ कै गरिमा बढाउन उनलाई एसएमएस भोटिङ गरेर जिताउन परिवार र शुभचिन्तकहरुले आग्रह गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिंदै टप टेनमा आइपुगेपनि अगाडि बढ्न र उपाधि जित्न दर्शकको भोट नै मुख्य आधार हुने भएकाले देश विदेशबाट भोट गरिदिन शुशिलका बुबा कृष्णप्रसाद आचार्यले अनुरोध गरेका छन् । एपीवान टेलिभिजनबाट बिहीबार र शुक्रबार राति साढे आठ बजे कार्यक्रम प्रशारण भएपछि आफूलाई मन परेका प्रतियोगीलाई सोमबार बिहान १२ बजेदेखि शुक्रबार १२ बजेसम्म भोट गर्न सकिने नियम छ । दर्शकबाट पाउने भोटको अंक ८० प्रतिशत हुने र २० प्रतिशत अंक निर्णायकको हुने नियम छ । प्रतियोगिता जित्न भोटलाई नै जोड दिनुपर्ने भएकाले उसको गायन प्रतिभा हेरेर भोट गरिदिन शुशिलका बुबा कृष्णप्रसादले पत्रकार सम्मेलन गरेर अपील गरेका छन् । ‘हाम्रो आर्थिक अवस्थाले पैसा खर्च गरेर भोट गर्न सक्दैनौं,शुशिलले गायनमा केही गरेर देखाउंछु भनेको हुंदा उसको हौसलाका लागि सबैको सहयोग चाहिएको छ’–उनले भने ।

बागेश्वरी संगीतालयका प्रिन्सिपल सुरेश सेन्चुरीले शुशिल क्लासिकल गायन सिकेर अघि बढ्दै गरेको राम्रो संभावना बोकेको प्रतिभा भएकाले शुशिललाई भोट दिएर जिताउन सबैसंग आग्रह गरे । प्रतियोगितामा अन्तिम १० मा बुटवलका आचार्यसंगै रामेछापका राम कुमार नेपाली, चितवनका मुना अर्याल, भोजपुरका दिपेन्द्र राई, बाजुराका पबिन्द्र सुनार, रोल्पाका शनि विश्वकर्मा, स्याङजाका चेतन गोतामे, सर्लाहीका रबिराज शाह, उदयपुरका बिनोद दनुवार र बाजुराका प्रभुराज पाण्डे रहेका छन् । प्रतियोगिताको विजेताले नगद ५० लाख नगदसहित २५ लाखको जीवन वीमा सुविधा पाउने छन् भने दोस्रो हुनेले नगद २५ लाख र तेस्रो हुनेले नगद १० लाख पुरस्कार पाउने छन् । जेठको अन्तिम साताबाट शुरु भएको प्रतियोगितामा अब हरेक हप्ता सबैभन्दा कम भोट पाउने एक–एक जना प्रतियोगी बाहिरिंदै जानेछन् ।