जनउत्थान र कोलिय–देवदहसहित २४ सहकारीलाई एक्सेस ब्राण्ड

प्रकाशित मिति:

बुटवल । देशभरका साढे ३४ हजार सहकारी संस्था मध्ये प्रदेश ५ का चार सहित २४ वटा वचत तथा ऋण सहकारी संस्था (साकोस) ले एशियाली मापदण्डको एक्सेस ब्राण्ड पाएका छन् । सहकारी संस्थालाई सुरक्षित, बलियो, दिगोरुपमा संचालन गर्न एक्सेस ब्राण्डलाई निकै महत्वपूर्ण सूचक मानिन्छ । देशभर रजत स्तरको एक्सेस ब्राण्ड पाउनेमा रुपन्देहीका एकसहित आठ वटा र कास्य स्तरको एक्सेस ब्राण्ड पाउने १६ वटा साकोस रहेका छन् । जसमध्ये प्रदेश ५ को रुपन्देही कोटिहवाको जनउत्थानले रजत स्तरको र देवदहको कोलिय–देवदह सहकारीले कास्य स्तरको एक्सेस ब्राण्ड प्राप्त गरेका छन् । यस्तै प्रदेश ५ को पश्चिम नवलपरासीको ग्रामीण साकोस र बर्दियाको सिको साकोसले रजत स्तरको एक्सेस ब्राण्ड पाएका छन् ।

रजत स्तरको एक्सेस ब्राण्ड पाउने अन्य सहकारीहरुमा काभ्रेपलाञ्चोकका विन्ध्बासिनी र सामुदायिक, दोलखाका जनसचेतन र मिलिजुली, धादिङको जनकल्याण,सुनसरीको किसान कल्याण र मोरङको मनकामना साकोस रहेका छन् । यस्तै कास्य स्तरको एक्सेस ब्राण्ड पाउने नवलपुरका चार वटा,भक्तपुरका तीनवटा,काभ्रेपलान्चोक र मोरङका दुई–दुईवटा तथा सुनसरी र दोलखाको एक–एक वटा सहकारी रहेका छन् । नवलपुरका विकु, गैंडाकोट स्वाभिमान, किसान र परोपकार, भक्तपुरका बाराही, सिद्धिगणेश र उपकार,काभ्रेपलाञ्चोकका बुडोल सामुदायिक र चण्डेश्वरी, मोरङको दाम्राभिटा र इटहरा, दोलखाको हाम्रो जनकल्याण र सुनसरीको महिला साकोसले कास्यस्तरको एक्सेस ब्राण्ड पाएका हुन् । यो ब्राण्डको मानयता एक वर्षको हुने छ । यो वर्ष एक्सेस ब्राण्डका लागि २५ वटा साकोसले आवेदन दिएका थिए । नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)को अगुवाईमा नेपालमा २०६५ सालदेखि एशियाली स्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम ( एवन कम्पेटिटिभ च्वाइस फर एक्सेलेन्स सर्भिस एण्ड साउन्डनेस–एक्सेस) कार्यक्रम शुरुवात भएको हो ।

एक्सेस ब्राण्ड प्राप्त गर्नका लागि एशियाली ऋण महासंघले दिएको ८६ वटा सूचांकहरु पुरा गर्नुपर्ने प्रावधान छ । नेपालमा बचत तथा ऋण सहकारी संस्थाहरुको प्रभावकारी अनुगमनको अभावमा जोखिम भएको भन्दै आलोचना भइरहेका बेला एक्सेस ब्राण्डले सहकारीप्रतिको विश्वास बढाउने जनउत्थान साकोसका व्यवस्थापक रनबहादुर थापा बताउंछन् । शुरुको वर्ष चार वटा सहकारी मात्र यो ब्राण्ड पाउन आवेदन दिएकामा हरेक वर्ष संख्या बढ्दै गएको नेफ्स्कुनका केन्द्रीय सदस्य कृष्ण नेपालले बताए । बुधबार एक्सेस ब्राण्ड पाउने सहकारीहरुको नामावली सार्वजनिक भएपनि प्रमाणपत्र भने आउंदो असोज ९ गते मलेसियामा वितरण हुने जनउत्थान सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।