सकियो श्रावणी मेला तथा बोलबम,, व्रतालुहरुले विधीवत पुजा गरी व्रत सके

प्रकाशित मिति:

तिथिका हिसावले साउनको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लाग्यो । सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गरेका छन् ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको तौलेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइचो लागेको थियो ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनिसोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको थियो । रुपन्देहीको परमेश्वर वोलवमधाममा पनि दिनभर जसो श्रदालुहरुको घुईचो लागेको थियो ।
सोमबार विभिन्न धार्मिक स्थलहरुमा स्नान गरी त्यहाँको जल लगेर महादेवलाई चढाए चारधाम गएसरहको पूण्य प्राप्त हुने तथा सुख संमृद्धि मिल्ने धार्मिक विश्वास छ ।
साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । त्यसमा सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । यसपाली तिथि अनुशार वोलवमको अन्तिम पुजा सोमबार भएको हो ।
विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथसोमबारमा शिवको आराधना गर्दछन् ।