इन्सपेक्टर बनाइदिन्छु भन्दै घूस लिने पूर्वसभासद कार्की जेल चलान

प्रकाशित मिति:

काठमाडौं – प्रहरी ‘इन्सपेक्टर’ बनाइदिन्छु भन्दै घूस लिएको आरोपमा सजाय सुनाइएका तत्कालीन एमालेका पूर्वसभासद डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले कार्कीलाई काठमाडौंको सतुङ्गलबाट पक्राउ गरेको हो ।

उनलाई घूस लिएको आरोपमा सर्वोच्च अदालतले ०७६ असार १७ गते एक लाख जरिबाना र ६ महिना जेल सजायको फैसला सुनाएको थियो । उनले राजकुमार राईबाट नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिने भन्दै पटक–पटक गरेर चार लाख पाँच हजार घूस लिएका थिए । सिआइबीका अनुसार उक्त रकममध्ये दुई लाख पाँच हजार मुद्दाका अर्का प्रतिवादी स्वामी ब्रम्हानन्द उदासीनले एक लाख र डोलबहादुर भन्ने डीबी कार्कीले लिएको खुलेको थियो ।

विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ग) बमोजिम जनही ४–४ महिना कैद र विगो बमोजिम एक–एक लाख रुपैयाँ जरिबाना र डोल बहादुर कार्कीलाई निज संविधानसभा तथा व्यवस्थापिका संसदको सभासद पदमा आसिन व्यक्ति भएकोले उनलाई दफा २४ बमोजिम थप दुई महिना कैद सजाय समेत गरी जम्मा ६ महिना कैद र एक लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो । फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएका प्रतिवादीलाई कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ ।