सामाजिक सुरक्षाभत्ता नपाएको ज्येष्ठ नागरिकको गुनासो

प्रकाशित मिति:

दार्चुला – शैल्यशिखर नगरपालिकाका ज्येष्ठ नागरिकले गत आर्थिक वर्ष २०७५-७६ को तेस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता अझै पाएका छैनन् । चालू आर्थिक वर्षको दुई महीना बित्नै लाग्दासमेत नगरपालिकाको लापरवाहीले गत वर्षको सामाजिक सुरक्षा भत्ता नपाएका हुन् ।तेस्रो चौमासिक रकम बैंकमार्फत वितरण गर्ने बताएपछि हालसम्म वृद्धवृद्धाले रकम पाउन सकेका छैनन् । यहाँका नौ वडाका सामाजिक सुरक्षाभत्ता पाउने व्यक्ति रकम नपाउँदा निराश छन् । शैल्यशिखर नगरपालिका–४ रानीशिखरका रामपति भट्ट यसपालिको गौरा निकै खल्लो महसुस भएको बताउनुहुन्छ । गौराका लागि नयाँ लुगा लगाउने सपना पूरा नहुँदा गौराजस्तो चाडमा निराश हुुनुप¥यो उहाँले भन्नुभयो । नगरपालिकाले हरेक चार महीनामा वितरण गर्दै आइरहेको सामाजिक सुरक्षाभत्ता नपाउँदा नयाँ लुगा किन्ने र गौरा मनाउने सपनामा निराशा छाएको हो । शैल्यशिखर नगरपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणमा लापरवाही गरेपछि यहाँका सामाजिक सुरक्षाभत्ता पाउने ज्येष्ठ नागरिक दलित गैरदलित, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्ति, एकल महिला, विधवा महिला, दलित बालबालिका, लोपोन्मुख आदिवासीलगायतले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् ।

गत आर्थिक वर्ष २०७५÷७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता रकम नपाएपछि भट्टजस्तै शैल्यशिखर नगरपालिकाका झण्डै दुई हजार बढी सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको गौरापर्व निराश भएको छ । तेस्रो चौमासिकको भत्तावापतको रकम जेठ या असार महीनामै पाउनुपर्नेमा आर्थिक वर्ष २०७६÷७७ को दुई महीना बित्नै लाग्दा पनि रकम नपाउँदा उनीहरु निराश भएका छन् । सामाजिक सुरक्षा भत्ता पाउँदै आउनुभएका स्थानीय गोपी भट्ट भन्नुहुन्छ, “विगतमा गाविस, जिविस हुँदा सहजरूपमा भत्ता पाइन्थ्यो । अहिले झन् सिंहदरबार गाउँमै आएपछि सामाजिक सुरक्षाभत्ता पाउन सकस भएको छ । घरदैलोमा पाइने सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्ने भनेपछि वृद्धवृद्धा समस्यामा परेका छाँै”, उहाँले गुनासो गर्नुभयो ।“बैंकमै पुग्न गाउँबाट तीन घण्टा लाग्छ, उकालो बाटो छ, बैंक पुगे पनि भनेअनुसार समयमै काम हुँदैन”, भट्टले भन्नुभयो । बुढेसकालमा दस्तखत मिल्दैन, अरुलाई पठाए बैंकले रकम दिन आनाकानी गर्छ उहाँको गुनासो छ । पहिले घरघरमा सामाजिक सुरक्षाभत्ता रकम पाइन्थ्यो, सहज थियो, अहिले त्यही रकम पनि समयमै आउँदैन । वडा नं ४ का वडाध्यक्ष देवदत्त भट्ट पनि सामाजिक सुरक्षाभत्ता रकमबारे अनविज्ञ हुनुहुन्छ । वृद्धवृद्धाले हामीलाई सामाजिक सुरक्षाभत्ता रकम माग्ने गर्छन्, उहाँले भन्नुभयो, “तर हामीलाई समेत किन वितरण भइरहेको छैन भन्नेबारे जानकारी छैन । एकले अर्कोलाई दोष देखाउँछन् । सामाजिक सुरक्षा रकम वितरणमा बदमासी गरेको आशङ्का छ”, उहाँले भन्नुभयो ।

शैल्यशिखर नगरपालिका–८ का वडासचिव मनोरथ जोशी सामाजिक सुरक्षाभत्ता अहिले वृद्धवृद्धाहरुको बैंक खातामा जम्मा भएको जानकारी आएको बताउनुहुन्छ । भदौ आधा भएपछि उनीहरुको खातामा जम्मा भएको मोबाइलमा म्यासेज पुगेको खबर छ, उहाँले भन्नुभयो, “किन ढिलाइ भयो भन्नेबारे जानकारी छैन । गत आर्थिक वर्षको दोस्रो चौमासिकको अन्तिमदेखि सबै सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्ने भनेपछि ढिलाइ भएको जनाइएको छ । हामीले समयमै निकासा दिएका हाँै, शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले भन्नुभयो, तर बैंकमा तथ्याङ्क भेरिफिकेसनमा ढिलाइ भयो । गोकुलेश्वरस्थित मेघा बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको हो । बैंकमा कहिले इन्टरनेट कहिले तथ्याङ्क प्रमाणीकरणमा ढिलाइले गर्दा समयमै सामाजिक सुरक्षाभत्ता रकम दिन नसकिएको उहाँको भनाइ छ । अहिले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाका वडा नं १, २, ३, ५ र ८ का सेवाग्राहीले सामाजिक सुरक्षाभत्ता रकम पाएका छन् । बाँकी चार वडाका सेवाग्राहीको रकम निकासा भइरहेको बताइएको छ । – रासस