तास खेले र खेलेको हेरे ५ सय जरिवाना लाग्ने

प्रकाशित मिति:

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिकामा जुवातास तथा घरेलु मदिरा बिक्रीबितरण निरुत्साहित गर्ने सहमति भएको छ। स्थानीय डाँडाखर्क टोल विकास संस्था, प्रहरी चौकी, जागरण आमा समूह र वडा कार्यालयले निर्णय कार्यान्वयनमा तदारुकता देखाएका हुन्। जाँडरक्सी खाएर सरकारी र गैरसरकारी कार्यालयमा जथाभावी बोल्ने, जहाँ पायो त्यहीं जुवाकै रुपमा तास खेल्ने जस्ता गतिविधि बढेपछि यस्तो निर्णय गरिएको हो। केही दिनअघि आमा समूहले स्थानीयको घरमा तास खेलिरहेका केही युवाहरूलाई तास खेलिरहेकै स्थानमा ताला लगाएर थुनेको थियो।

जुवातास, जाँडरक्सी र कुरीतिविरुद्ध टोल विकास संस्था र आमा समूहलाई सक्रिय पार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो।स्थानीय जागरण आमा समूहले तास खेल्ने, तास खेलेको हेर्ने र घरेलुमदिरा उत्पादन गरी बिक्री गर्ने जोकोहीलाई ५ सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्ने गरी प्रहरी चौकी, आमा समूह, वडा कार्यालय र टोल विकास संस्थाका पदाधिकारीले प्रतिबद्धता जनाएको वडा अध्यक्ष पेमा लामाले जानकारी दिनुभयो। उहाँका अनुसार मंगलबारको सर्वपक्षीय बैठकमा निर्णय कार्यान्वयन गर्ने सहमतिमा हस्ताक्षर भएको हो।