भारतका एटिएमबाट पनि नेपाली बैंकको साढे ३ करोड चोरी

प्रकाशित मिति:

काठमाडौं– ह्याकरहरुले भारतबाट पनि नेपाली बैंकिङ प्रणाली ह्याक गरी नेपाली बैंकबाट पैसा चोरेको खुलेको छ । राष्ट्र बैंकले गरेको अनुसन्धानका क्रममा भारतीय बैंकका विभिन्न एटिएम बुथ प्रयोग गरी नेपाली बैंकको रकम लुटेको खुलेको हो । राष्ट्र बैंकका अनुसार भारतीय एटिएमबा ६ वटा नेपाली वाणिज्य बैंकको ३ करोड ५८ लाख ८४ हजार ५ सय रुपैयाँ लुटिएको हो । राष्ट्र बैंकले कुन बैंकको कति रकम लुटिएको भनेर केही खुलाएको छैन ।

गत शनिबार काठमाडौंबाट पक्राउ परेका चिनियाँ ह्याकरहरुको गिरोहले नेपालका १७ वटा वाणिज्य बैंकबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ लुटेको पनि राष्ट्र बैंकले जनाएको छ  राष्ट्र बैंकका अनुसार नेपाली बैंकहरुले प्रयोग गरेको नेपाल इलेक्टोनिक्स पेमेन्ट सर्भिस (नेप्स) र अमेरिकी एटिएम नेटवर्क भिसा प्रणालीको बीचमा ह्याकरहरुले ‘साइबर हमला’ गरी बैंकको नगद लुटपाट गरेका हुन् । पछिल्लो ह्याकिङबारे फरेन्सिक विज्ञहरुले अध्ययन गरिरहेकाले अध्ययन सकिएपछि मात्रै सम्पूर्ण विवरण सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ ।