प्रधानमन्त्री ओली भोली शुक्रबार स्वदेश फर्कँदै, स्वागतका लागि मन्त्रीहरूलाई पठाइयो सूचना
काठमाडौं – उपचारका क्रममा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदैछन् । उनी अपरान्ह करिब २ बजे त्रिभुवन विमानस्थलमा ओर्लने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सबै मन्त्रीहरूलाई सूचना पठाएर शुक्रबार विमानस्थलमा उपस्थित हुन भनेको छ । मन्त्रीहरुलाई अपरान्ह एक बजेर ४५ मिनेटमा उपस्थित हुन सुचित गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले जनाएको छ । प्रधानमन्त्रीको स्वागतका लागि सरकारका मन्त्रीहरु, मुख्यसचिव लगायत उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुग्नेछन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा बिभिन्न अड्कलबाजी भइरहेका बेला सम्पुर्ण उपचार सकेर उनी शुक्रबार स्वदेश फर्कने निश्चित भएको हो । सिंगापुरमा ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गरिँदै आएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै बुधबार उनको उपचार प्रक्रिया पूरा भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै ओलीको स्वास्थ्य सामान्य रहेको बताएका थिए । १२ वर्षअघि मिर्गोलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली यही भदै ५ गते उपचारका लागि दोस्रो पटक सिंगापुर गएका थिए । उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भदौ ६ गतेबाट उपचार भइरहेको थियो ।