नेकपाको योजना : ३६ देशमा ‘भूमिगत’ संगठन बनाउँदै ,गोप्यरुपमा सदस्यता वितरण गरिने

प्रकाशित मिति:

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ३६ देशमा प्रवास कमिटी विस्तार गर्न लागेको छ । यसअघि पूर्वएमालेको प्रवासी नेपाली मञ्च र पूर्वमाओवादी केन्द्रको जनप्रगतिशील मञ्च सक्रिय थिए । अब ती दुवै कमिटीलाई मर्ज गरेर प्रवासी नेपाली एकता मञ्च गठन गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य युवराज कार्कीले जानकारी दिए । गत वर्ष पार्टी एकता भएसँगै गठित नारायणकाजी श्रेष्ठ नेतृत्वको कार्यदलले ३६ देशमा प्रवास कमिटी गठन गर्नेगरी निर्देशिका तयार पारेको हो । साविक एमालेबाट युवराज कार्की र विन्दा पाण्डे र पूर्वमाओवादीबाट श्रेष्ठ र युवराज चौलागाईं रहेको कार्यदललाई प्रवास कमिटी गठनको निर्देशिका तयार पार्ने, प्रवास कमिटीको नेतृत्वको खाका तयार पार्ने कार्याधिकार दिइएको थियो ।

कार्यदलले तयार पारेको निर्देशिका सचिवालयले अनुमोदन गरेपछि प्रवास कमिटीको गठन प्रक्रिया अघि बढेको कार्यदलका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार ३६ वटै देशमा प्रवास कमिटीको नाम प्रवासी नेपाली एकता मञ्च राखिनेछ । सदस्य संख्याको आधारमा ३५ देखि १२५ सदस्यीय राष्ट्रिय समिति गठन गर्न सकिनेछ । ती कमिटीलाई पार्टीको संगठन नभई सामाजिक संगठनका रूपमा सम्बन्धित देशका कानुन, प्रचलित नियमअनुसार दर्ता गर्ने र नेकपाले अप्रत्यक्ष नेतृत्व गर्ने तयारी रहेको बताइएको छ । विधान, झण्डा, नियमावलीआदि पनि सम्बन्धित देशका राष्ट्रिय समितिले छुट्टाछुट्टै बनाउन सक्नेछन् । यसअघि यस्तो अभ्यास पूर्वएमालेले गर्दै आएको थियो । पूर्वमाओवादी केन्द्रले भने प्रवासी कमिटीलाई पार्टी कमिटीकै मान्यता दिन्थ्यो । ‘अहिले तयार पारिएको निर्देशिकाअनुरु प्रवासी नेपाली एकता मञ्चले गोप्य रूपमा सदस्यता वितरण गर्नेछ । उनीहरूको सदस्यता र परिचय पनि गोप्य नै राखिनेछ,’ ती सदस्यले जानकारी दिए ।

प्रवासी नेपाली एकता मञ्चलाई व्यवस्थित गर्न ६ वटा क्षेत्रीय समन्वय कमिटी गठन गरिनेछ । हङकङ, जापान, मलेसिया, कोरिया, सिंगापुर समेटेर पूर्वी एसिया, भारत, श्रीलंका, चीन, बङ्गलादेश समेटेर दक्षिण एसिया, अष्ट्रेलिया, न्युजिल्याण्ड समेटेर ओसियाना, युरोप, अमेरिका, मध्यपूर्व (खाडी)मा क्षेत्रीय समन्वय कमिटी निर्माण गर्ने र केन्द्रीय सदस्यमध्येबाट इन्चार्ज तोक्ने तयारी छ । यसअघि प्रवास कमिटीलाई जिल्ला कमिटी सरह मान्यता दिइएको थियो । अब बन्ने कमिटीको हैसियत पार्टीको सामाजिक संगठन हुनेछ । त्यसको समग्र नेतृत्व गैरभौगोलिक प्रदेश कमिटीले गर्ने र त्यसलाई प्रदेश कमिटीसरह नेतृत्व, इन्चार्ज र सहइन्चार्जको व्यवस्था गर्न लागिएको नेकपाले जनाएको छ ।