काठमाडौंवाट एक समुह हतियारसहित पक्राउ

प्रकाशित मिति:

काठमाडौं– राजधानीको बानेश्वर कोटेश्वर र काँडाघारी क्षेत्रमा गुण्डागर्दी गर्ने ७ जनाको समूहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले हतियारसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङका २१ वर्षीय भुपेन्द्र राई, भोजपुरका २३ वर्षीय सनित राई, सोलुखुम्बुका २६ वर्षीय मिङ्मा शेर्पा, काभ्रेका ३५ वर्षीय राजु भण्डारी, भक्तपुरका १८ वर्षीय सुरेश श्रेष्ठ, चितवनका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछापका २६ वर्षीय विमल भन्ने सुजन थापा मगर रहेका छन्।

होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीलाई डर त्रास देखाई रकम असुल्दै हिड्ने गरेको सूचनाको आधारमा परिसरको विशेष टोलीले सोमबार अपराह्न उनीहरुलाई रिवल्वर १ थान, म्यागजिन १ थान र ४ वटा गोलीसहित तीनकुनेस्थित के वन रेष्टुरेन्टबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका व्यक्तिहरु गुण्डागर्दी गर्ने, लागू औषधको कारोवार गर्ने र व्यापारीलाई धम्काउने, तर्साउने तथा जवरजस्ती लुटपाटमा संलग्न थिए। साथै विगतमा समेत पटक पटक विभिन्न अपराधमा संलग्न भई उनीहरुविरुद्ध पटक पटक काठमाडौंको वृत्तहरुमा मुद्दा चलेको थियो।