वडाध्यक्षले गरे प्रधानाध्यापकमाथि हातपात, पाँच विद्यार्थी घाइते

प्रकाशित मिति:

महोत्तरी- महोत्तरीका एक वडाध्यक्षले साइकल वितरण कार्यक्रमको अध्यक्षता गर्न नदिएको भन्दै प्रधानाध्यापकमाथि हातपात गरेका छन्। बलबा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विजय महतोले मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत आज हुने भनिएको साइकल वितरण कार्यक्रमको अध्यक्ष गर्न नदिएको भन्दै प्रधानाध्यापक महेश झा रोशनमाथि हातपात गरेका हुन्।‘हामीले आजको कार्यक्रमका लागि हिजो सम्बन्धित सबैसँग परामर्श गरेका थियौं, कार्यक्रमको अध्यक्षता कसले गर्ने भन्ने कुरा उठ्यो। नियम अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षले अध्यक्षता गर्ने गर्छन् र अध्यक्ष नभए प्रधानाध्यापकले गर्छन्, अध्यक्ष नभएका कारण कार्यक्रमकाे मैले अध्यक्षता गर्नुपर्ने अवस्था आयो, सबैले सहमति पनि जनाउनुभयो, तर हिजो राति वडाअध्यक्षज्यूले मलाई कार्यक्रमको अध्यक्ष नबनाए कार्यक्रम बिथोलिदिन्छु भनेर धम्की दिनुभयो’ प्रधानाध्यापक झाले सेतोपाटीलाई भने।

अध्यक्षताको बारेमा विद्यालय परिसरमा अन्य शिक्षकहरुसँग छलफल गरिरहेका बेला लगभग २०–२५ जनासहित विद्यालयमा आएका वडा अध्यक्ष महतोले अचानक मुख्यमन्त्रीको स्वागतका लागि राखिएका कुर्सीहरु तोड़फोड गरेको उनले बताए। तोडफोड रोक्न खोज्दा अध्यक्षसहित उनीसँग आएकाहरु आफुमाथि जाई लागेको झाले बताए । यता प्रधानाध्यापकलाई हातपात गरिरहेको देखेपछि उक्त विद्यालयका विद्यार्थीले वडाअध्यक्ष महतोलाई लखेटेपछि उनी भागेका थिए। महतोले घरनजिकै प्रहरी बोलाएर पिट्न लगाएको कक्षा १० मा अध्ययनरत विद्यार्थी धिरज यादवले बताए।

प्रहरीको लाठी चार्जबाट धिरजको टाउको फुटेको छ भने अन्य चार जना विद्यार्थीलाई समेत चोट लागेको छ। घाईते सबै विद्यार्थीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ। यता वडा अध्यक्ष महतोले आफुले प्रधानाध्यापकमाथि कुनै प्रकारको हातपात नगरेको दाबी गरेका छन्। उनले भने ‘उल्टै प्रधानाध्यापक झाले विद्यार्थीहरुलाई आफुविरुद्ध उचालेर घर र कार्यालयमा तोडफोड गर्न लगाएका छन्।’प्रदेश दुई सरकारले बेटी पढाउँ बेटी बचाउँ अभियान अन्तर्गत सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरुको सहजताका लागि प्रदेशभरि साईकल वितरण गर्ने अभियान नै चलाएको छ। – सेटोपाटी