पहाडमा अनिकाल निम्त्याउन उद्दत अमेरिकी फौजी किरालाई ठेगान लगाउन खटाईंदै बारुला

प्रकाशित मिति:

काठमाडौं – नेपालका विभिन्न भागमा अमेरिकी फौजी कीराको प्रकोपले मकैबाली सखाप भएको गुनासो किसानहरूले गरेका छन्। मकैबालीमै भर पर्नुपर्ने पहाडी भेगका किसानहरू यो वर्ष अनिकाल हुने चिन्तामा परेका छन्। कृषि मन्त्रालयका अधिकारीहरू भने अमेरिकी फौजी कीराले पुर्‍याउने क्षति न्यूनीकरणका लागि प्रयास भइरहेको दाबी गर्छन्। फल आर्मीवर्म (एफएडब्ल्यू) नामक कीरा बालीका लागि निकै हानिकारक हुने र यसले केवल मकै मात्रै नभई अन्य अन्नबाली खासगरी जुनेलो, धान, गहुँ, कोदो, उखु तथा अन्य घाँसमा पनि असर पुर्‍याउने बालीबिरुवामा लाग्ने कीराका विशेषज्ञ पनि रहेका कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जीसी बताउँछन् । बालीनाली नभेटेका बेला घाँस मात्रै खाएर पनि बाँच्ने यो कीराले बन्दा, चुकन्दर, बदाम, प्याज, भटमास, गोलभेडा, आलुमा पनि क्षति पुर्‍याउन सक्छ।

गर्मी महिनामा एक रातमै एक सय किलोमिटरभन्दा लामो यात्रा गर्न सक्ने यो मिचाहा कीरा पुतली समूहमा पर्छ र राति सक्रिय हुन्छ। यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो। बालीमा क्षति पुर्‍याउने चाहिँ कीराको लार्भाले हो। फौजी कीराका केही प्राकृतिक शत्रु प्रयोग गरेर यसको नियन्त्रण गर्न सकिने कृषि तथा कीटवैज्ञानिकहरू बताउँछन्। तिनमा बारुला जातका सिकारी कीरा र विभिन्न खपटेकीरा पर्छन्।खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा पनि फौजी कीराको सिकार गर्ने बारुला पाल्ने प्रयास भइरहेको जीसीले बताए।‘बारुला पाल्न हामीले खुमलटारस्थित नार्कमा काम गरिरहेका छौँ र यस्तो किसिमको पद्धति प्रादेशिक स्तरका प्रयोगशालामा गर्न पनि हामीले अभिप्रेरित गरिरहेका छौँ,’ जिसीले भने। हप्ताको तीन पटक प्रतिहेक्टर १० हजार बारुला उडाउन सके त्यसले रासायनिक विषादी प्रयोग गर्नै नपर्ने गरी समस्याको समाधान हुने उनले बताए। ‘फौजी कीराको फुलमाथि बारुलोले गएर फुल पारिदिन्छ। यसरी शत्रु कीराको फुलमाथि मित्रकीराले फुल पारेपछि आउने बच्चा भनेको मित्र कीराको हुन्छ,’ जीसीले भने। कृषिमन्त्रालयले संसारभरि यसको चपेटामा परेकाहरूले कसरी मुक्ति पाइरहेका छन्, त्यसको अध्ययन गरिरहेको जनाएको छ । यसको रोकथामका लागि हामी सबैले एउटै तरिका अपनाउनुपर्छ भनेर छलफल भएको छ ।

फैजी किरा कसरी भित्रियो नेपाल ? अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखा परेको थियो। अमेरिकाको विभिन्न भाग हुँदै अफ्रिका महादेश पुगेको यो कीरा सन् २०१८ मा भारत, श्रीलङ्का, म्यान्मार, भियतनाम, चीन, ताइवान, थाईल्यान्ड र बाङ्ग्लादेशमा देखा परेको थियो। वैशाख २६ गते नवलपुरस्थित गैँडाकोटको मकैबारीमा भेटिएका कीराका विभिन्न अवस्थाको अध्ययन गरेपछि नेपालमा पनि फौजी कीरा फैलिएको नेपाली कीटवैज्ञानिकहरूले पहिलो पटक पुष्टि गरेका छन्। तर यो कीराको प्रकोप तराईका क्षेत्र हुँदै पूर्वका पहाडी जिल्लासम्म फैलिसकेको छ।

अनिकालको चिन्ता : यो मिचाहा कीरा फैलिन सक्ने सम्भावना प्रबल भएकाले अन्नबाली नराम्ररी प्रभावित हुन सक्ने र त्यसबाट भोकमरी हुन सक्ने चिन्ता रहेको कृषिसचिव जीसी बताउँछन्। ‘यसलाई समयमै व्यवस्थापन गर्न सकिएन भने यसको खतरा व्यापक छ। हामीले सुझाएका विषादी सही मात्रामा प्रयोग गर्नुपर्छ नभए यसको नकारात्मक असर झन् घातक हुन्छ,’ उनले भने। उनका अनुसार सिफारिस नगरिएको रासायनिक विषादी प्रयोग गर्दा सही विषादी पनि प्रभावहीन हुन सक्छ।