कम्युनिस्टहरु नालायक हुन् भन्ने पुष्टि भइसक्यो : पौडेल

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरु देशमा शासन गर्न नालायक हुन् भन्ने पुष्टि भइसकेको टिप्पणी गरेका छन् । प्रदेश नं. ३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि भक्तपुरमा शुक्रबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा वरिष्ठ नेता पौडेलले कम्यनिस्टहरुबाट मुलुक चल्दैन भन्ने कुरा प्रष्ट भइसकेको दाबी गरे । उनले नेपाल कम्यनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार पूर्ण असफल भइसकेको पनि जिकिर गरे । सरकार असफल भएकै कारण सत्ता पक्षका नेताहरु मुलुकमा प्रतिगमन आउन थाल्यो भन्दै आत्तालिन थालेका पौडेलको भनाइ थियो ।

“प्रतिगमन आउन लाग्यो भनेर सरकारका नेताहरु अत्तालिन थालेको देखिन थालेको छ । यो केको परिणाम हो ?,” उनले प्रश्न गर्दै भने, “यो सरासर कम्युनिस्ट सरकारको पूर्ण असफलताको परिणाम हो । यो सरकार असफल भएको छ । दुईतिहाइ बहुमत पाएर पनि यो सरकार असफल भएको छ ।” संसदमा दुईतिहाइ बहुमत प्राप्त सरकार गठन भएको दुई वर्ष पनि नपुग्दै जनतामा छाएको निराशाले कम्युनिस्टहरु देश चलाउन असक्षम भएको पुष्टि गरेको नेता पौडेलको भनाइ थियो ।

सत्तारुढ नेकपाका शीर्ष तहका नेताहरुले बेलाबेला दिने गरेका अभिव्यक्तिहरु स्मरण गर्दै उनले भने, “सरकारकै शीर्ष तहका व्यक्तिहरु भनिरहेका छन्– हामीले काम गर्न सकेनौं, प्रतिक्रियावादी शक्तिहरुले मुन्टो उठाए । प्रतिगामीले मुन्टो उठाए । यो उनीहरुको असफलता हो ।” प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिंगापुर जानुभन्दा केही दिन अगाडि सर्वदलीय बैठक बोलाएको प्रसंग निकाल्दै नेता पौडेलले प्रश्न गरे, “प्रधानमन्त्री स्वयम्ले देशमा फेरि प्रतिगमन आउन लाग्यो भनेर अस्ति भर्खरै सर्वदलीय बैठक आयोजना गरेर हारगुहार गरे । यति चाँडै यो व्यवस्था, यो सरकार खङ्ग्राङ खुङ्रुङ हुनुपर्ने अवस्था किन आयो ?” उनले जनताले बहुमत दिँदा पनि नेकपा नेतृत्वको सरकारले प्रदेशको नाम र राजधानीसमेत टुंग्याउन नसकेको भन्दै आपत्ति जनाए । “दुईतिहाइ बहमुत ल्याएका छन्, प्रदेशको नाम तोक्न सक्दैनन्, राजधानी तोक्न सक्दैनन्,” वरिष्ठ नेता पौडेलले भने, “दुईतिहाइ ल्याएका छन्, हामीले २५–२६ किलोमिटर सुरुङ खनेर ओरालिदिएको सुन्दरीजलबाट पानी दिन सकिरहेको छैन ।”