पूर्वखोलामा ‘भाइरल ज्वरो’को प्रकोप, विद्यालय बन्द गरिने

प्रकाशित मिति:

पाल्पा -पूर्वी पाल्पाको पूर्वखोला गाँउपालिका–३ अर्खलडाँडामा एकै टोलमा धेरै जना विरामी परेका छन् । पछिल्लो चार दिनदेखि फैलिएको रुघाखोकी र ज्वरोको संक्रमणले एकै टोलका ७३ जना भन्दा बढी संक्रमित भएका छन् । विहीबार जानकारी पाउनासाथ गाँउपालिकाले सी.अहेब मोहन ढकालको नेतृत्वमा चार जनाको स्वास्थ्यकर्मीको टोली अर्खलडाँडा पठाएको छ । सो टोलीले ४३ जना पुरुष र ३० जना महिला गरी जम्मा ७३ जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरेको जानकारी दिएको छ । विरामी हुनेहरुमा १८ जना विद्यार्थी रहेका टोलीको नेतृत्व गरेका ढकालले जानकारी गराए । साधारण चेकजाँच गर्दा ज्वरो र रुघा खोकी देखिएको हुनाले भाइरल फिभर हुनसक्ने उनको भनाइ छ । त्यही अनुसार उपचार सुरु गरिएको ढकालको भनाइ छ ।

विहीबार मात्रै ७३ जनाको उपचार गरिएको र अब यसको नतिजा एक दुई दिनमा थाहा हुने उनले बताए । टोलबासी नै विरामी पर्न थालेपछि ‘जनउज्वल आधारभुत विद्यालय’ शुक्रबारदेखि बन्द गरिएको छ । विहीबारका दिन सोही विद्यालयमा शिविर सञ्चालन गरिएको थियो । ‘गाँउमा दिनानुदिन विरामीहरुको संख्या बढ्दै गएको बताइएको छ । त्यसैले आजका लागि विद्यालय बन्द गर्न भनेका छौं’ ढकाल भने– ‘त्यसपछि कस्तो हुन्छ, त्यसैका आधारमा विद्यालय खोल्ने वा थप केही दिन बन्द गर्ने भन्ने विषयको निधो हुन्छ ।’ स्वास्थ्य परीक्षणका लागि विहीबार सी.अहेब ढकालको नेतृत्वमा रिग्नेरह स्वास्थ्य चौकीबाट अहेब रवि शंकर जैसवाल, वीरकोट स्वास्थ्य चौकीबाट अहेब नर्बुफुर्वा दोर्जे र स्टाफ नर्स सरस्वति श्रेष्ठ त्यहाँ पुगेका छन् ।