अवैध मदिरा नियन्त्रण गर्न व्यवसायीको माग

प्रकाशित मिति:

बुटवल-अवैधरुपमा उत्पादन र विक्रि वितरण हुने मदिरा नियन्त्रण गर्न मदिरा व्यवसायीले माग गरेका छन् । पहाडी क्षेत्रमा ७० प्रतिशत र शहरी क्षेत्रमा ४० प्रतिशत अवैध मदिराको विक्रि वितरण हुने गरेको व्यवसायीको दावी छ । अवैध मदिराका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको र राज्यको करोडौं राजस्व गुमेको भन्दै व्यवसायीले नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसंग माग गरेका छन् । व्यवसायीका गुनासाको जवाफ दिंदै प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले व्यवसायीका माग र समस्या छलफल रसंवादबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

मदिरा व्यवसायी संघ रुपन्देहीको ११ औं साधारणसभा तथा छैठौं अधिवेशनको उद्घाटनमा बोल्दै सांसद श्रेष्ठले संविधान र कानूनको दायराभित्र रहेर व्यवसाय गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएपनि व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने आग्रह गरे । नीजि क्षेत्रको साथ विना सरकार एक्लैले विकास र समृद्धि हासिल गर्न नसक्ने हुंदा व्यवसायीले पनि सरकारलाई आफ्ना माग र समस्याबारे झक्झकाइरहनुपर्ने सुझाव दिए । मदिरा व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष विष्णु कुमार श्रेष्ठले अवैध मदिराको निर्वाध विक्रि वितरणले राज्यलाई कर तिरेर व्यवसाय गर्ने व्यवसायी मारमा परेका र राज्यले वर्षेनी करोडौं रुपैयां राजस्व गुमाएको बताए ।

अवैध मदिरा नियन्त्रण गर्नुको साटो वैधानिक रुपमा व्यवसाय सञ्चालन गरेका व्यवसायलाई नियन्त्रण गरेर नीजि क्षेत्रलाई निरुत्साहित गरेको गुनासो गरे । आफूहरु राजस्व चुहावट नियन्त्रणमा सरकारलाई सघाउन तयार रहेको बताउंदै भीसीटीएसविरुद्ध अदालत जाने तयारी भएको बताए । मदिरा व्यवसायी महासंघका महासचिव तारानाथ ढुंगानाले देशभरका मदिरा उद्योग रव्यवसायबाट राज्यले कूल राजस्वको २२ प्रतिशत हिस्सा प्राप्त गरेपनि व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको गुनासो गरे । देशभर करिब सय वटा मदिराजन्य उद्योग र दुई लाख व्यवसायीमार्फत पांच लाख जनालाई रोजगारी दिएको क्षेत्रलाई नियन्त्रण गरे आन्दोलनमा जान वाध्य हुने महासचिव ढुंगानाले बताए ।होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले मदिरालाई निषेध र नियन्त्रण गरेर सरकारले अघि सारेको भ्रमण वर्ष सफल नहुने र समृद्धि पनि हासिल नहुने श्रेष्ठले तर्क गरे । उनले होटल व्यवसायलाई रातमा पनि सञ्चालन गर्न दिनुपर्ने माग गरे । मदिरा व्यवसायी संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष शम्भु भट्टराईको अध्यक्षता र स्वागत, सचिव हिमालय भुसालको सञ्चालनमा भएको कार्यक्रममा महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष कृष्ण नेपाल, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ,मदिरा व्यवसायी संघ रुपन्देहीका पुर्व अध्यक्ष खिमबहादुर खत्री,संघका अर्घाखांची अध्यक्ष लक्ष्मण कंडेलले बोल्दै व्यवसायिक एकतामा जोड दिएका थिए । कार्यक्रममा संघका महासचिव प्रितम गिरीले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पदम घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । अधिवेशनले नयां नेतृत्व चयन गर्ने छ ।