अमेरिकी सैनिकसहित १२ जनाको हत्यापछि ट्रम्पले तालिबानसँगको सम्झौता भंग गरे

प्रकाशित मिति:

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँगको शान्ति सम्झौता भंग गरेको घोषणा गरेका छन् । ट्रम्पले श्रृङ्खलाबद्ध ट्वीट गरेर आइतबार क्याम्प डेविडमा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँग गोप्य बैठकमा भाग लिने कार्यक्रम निश्चित भएपनि अब यसलाई रद्द गरिएको जानकारी दिएका छन् । उनले काबुलमा भएको कार बम बिस्फोटपछि उक्त कदम उठाएको बताएका छन् जसमा एक अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएको थियो । तालिबानले उक्त हमलाको जिम्मेवारी लिएको थियो ।

अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलिलजादले गत सोमबार तालिबानसँग ‘सौद्धान्तिक रुपमा’ एक शान्ति सम्झौता भएको घोषणा गरेका थिए । प्रस्तावित सम्झौता अनुसार अमेरिका अबको २० हप्ताभित्र अफगानिस्तानबाट आफ्नो पाँच हजार चार सय सैनिक फिर्ता लैजादैँ थियो । यद्यपि, अमेरिकी राजदूतले सम्झौतामाथि अन्तिम मुहर राष्ट्रपति ट्रम्पले लगाउनु छ भनेका थिए । बिहिबार काबुलमा भएको कार बम बिस्फोटपछि तालिबानसँग वार्ता हुँदा पनि अफगानिस्तानमा हिंसा बन्द हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो ।

बलियो हुनेछ तालिबानः सन् २००१ मा अमेरिकी सैन्य अभियानपछि पहिलो पटक अफगानिस्तानमा एउटा ठूलो हिस्सामा चरमपन्थीहरुको नियन्त्रण भएको छ । तालिबानले अफगान सरकार अमेरिकाको कठपुलती भएको भन्दै कुराकानी अस्विकार गर्दै आएको छ । अमेरिका र तालिबानबीच कतारमा अहिलेसम्म ९ चरणको शान्ति वार्ता भइसकेको छ । प्रस्तावित सम्झौतामा अमेरिकी सैनिकको विदाईको बदलामा तालिबानले कहिले पनि अमेरिका र उसको सहयोगीमाथि हमलाका लागि अफगानिस्तानको प्रयोग नगर्ने प्रावधान थियो ।

तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो । अफगानिस्तानमा सन् २००१ मा अमेरिकाको अगुवाईमा सुरु भएको सैन्य अभियानपछि अन्तरराष्ट्रिय गठबन्धन सेनाका लगभग तीन हजार पाँच सय सदस्यको ज्यान गइसकेको छ जसमा दुई हजार तीन सय अमेरिकी छन् । अफगानिस्तानका सर्वसाधारण, चरमपन्थी र सुरक्षाबलको मृत्युको संख्यामा अन्दाज लगाउन कठिन छ । सन् २०१९ मा संयुक्त राष्ट्रले आफ्नो एक रिपोर्टमा त्यहाँ ३२ हजार बढी सर्वसाधारणको मृत्यु भएको बताएको छ । यस्तै, ब्राउन युनिभर्सिटीका वाटसन इन्स्टिच्युटका अनुसार त्यहाँ ५८ हजार सुरक्षाकर्मी र ४२ हजार विद्रोही मारिए ।